एकपटक पुग्नैपर्ने ठाउँ शे-फोक्सुण्डो ताल

शे-फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण रमणीय गन्तव्य हो।

धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एक पटक पुग्नैपर्ने स्वर्गको एउटा टुक्रा हो।

यही भएर बर्सेनि यो तालसम्म पदयात्रा गर्नको लागि पुग्नेहरूको संख्या बढिरहेको छ।

पदयात्रामा रमाउने र यसको मजा लिनेहरूको लागि शे-फोक्सुण्डो तालको पदयात्रा महत्वपूर्ण छ।

यो तालमा पुग्नको लागि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ।

डोल्पाको प्रमुख आकर्षणको रूपमा रहेको यो तालमा जानको लागि चैत, वैशाख र जेठ महिना तथा भदौ, असोज र कात्तिक अति उत्तम महिना हो। डोल्पा पुगेपछि जानैपर्ने ठाउँको रूपमा भएकोले हामीहरूले पनि भदौ महिनामा यो तालसम्म पुग्नको लागि यात्रा तय गर्‍यौं।

डोल्पा पुगेर शे-फोक्सुण्डो ताल र उपल्लो डोल्पा नजानु भनेको फुर्सदमा पछुताउनुजस्तै रहेछ।

हामी डोल्पामै भएकोले पदयात्रामा जानको लागि खासै असहज भएन। यहाँ पुग्नको लागि नेपालगञ्जदेखि जुफालसम्म ३५ मिनेटको हवाई यात्रा र जुफालबाट जिपमा सुलिगाड पुगेर सुलिगाड पुल तरेर पदयात्रा सुरू हुन्छ भने नेपालगञ्जबाट सडकमार्ग भएर सोझै मोटरसाइकल र जिपमा पनि सुलिगाडसम्म आउन सकिन्छ।

कागनीदेखि तालसम्म बाटोमा खाने बस्ने सुविधायुक्त होटलहरू र चिया कफी हाउसहरू भएकोले बाटोमा खान र बस्नको लागि कुनै असुविधा हुँदैन।

यहाँ भएका होटलमा अरू प्रतिष्ठित कम्पनीहरूको पनि लगानी भएकोले सेवा र सुविधामा विस्तार भैरहेको छ। जसले गर्दा घुम्न आउनेहरूलाई सहज भएको छ भने स्थानीयहरूले रोजगारी पाएका छन्।

सुलिगाड दोभानबाट २० मिनेटको पैदलपछि क्याम्प साइट (पुरानो भेंडीगोठ) जहाँ शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय रहेको स्थानमा पुगिन्छ।

त्यहाँ निकुञ्ज प्रवेश शुल्क तिरेर प्रवेश अनुमति लिएपछि सुलिगाडको तिरैतिर राक्टाङ भएर खोला किनारको बस्ती कागनी(कांग्री) पुगिन्छ, यहाँ रह खोला सुलिगाडमा मिसिन्छ।

कागनीबाट सुलिगाडको पुल तरेर तिरैतिर तेस्रो बाटो फोक्सुण्डोको हिउँदमा बस्ने बस्ती र गोठहरू भएको जेलाशा कटेपछि साङ्ट पुगिन्छ। यहाँबाट शे-फोक्सुण्डो गाउँपालिकाको क्षेत्रमा प्रवेश गरिन्छ।

साङ्टमा आँखे खोलाबाट बिजुली निकालिएको छ। खोलाको किनारै-किनार जंगल र पाखोको पैदल यात्रापछि दुई घण्टामा छेप्का पुगिन्छ। छेप्कामा होमस्टे पनि सञ्चालनमा छन्।

आफ्नो छुट्टै क्याम्पमा बस्नेको लागि पनि व्यवस्था गरिएको छ। छेप्का भन्दा अगाडि खेम झ्यापुवामा क्याराभानका नायक ठिन्ले लुण्डुप लामाको सम्झनामा चिर्थुम निर्माण गरिएको छ।

यही बाटो हिँड्दा घोडाबाट लडेर भालेजुरामा ठिन्ले लुण्डुप लामाको मृत्यु भएको थियो। सुलिगाड तल खोंचमा बगेको छ अलि माथि जंगल र भिरपाखाको पैदल हिँडाइपछि र्याची पुगिन्छ।

यो बाटोमा बर्षातमा हिँड्दा चिप्लिने डर हुन्छ। र्याचीबाट खोलाको किनारै किनार वारिपारि काठेपुल तरेपछि सुलिगाड र पुग्मगाडको दोभान सुम्दुवा पुगिन्छ।

यहाँ नेपाली सेनाको निकुञ्ज सुरक्षा गण छ भने निकुञ्ज चेकपोष्ट रहेको छ।

यहाँबाट सुलिगाडको किनारै किनार साइजल पुगिन्छ। यसलाई तापरिचा र बोडिङ पनि भन्ने गरिन्छ। यहाँ आम्ची अस्पताल, शे-फोक्सुण्डो स्वास्थ्य चौंकी र तापारिचा विद्यालय छन्।

रिङ्मो पुङ्मोलगायत आठ गाउँको साझा आवासीय माविका रूपमा तापरिचा विद्यालय छ। टासी डी नामक संस्थाले सन् १९९८ देखि व्यवस्थापन गर्दै आइरहेको छ।

यहाँबाट सुलिगाड खोला तरेपछि पोलाम पुगिन्छ। पोलामबाट खोलाको कलकल र कर्कश धुन सुनिँदैन किनकी पोलामबाट खोला छोडेर उकालो हिँड्नु पर्छ। यस ठाउँमा पहिले निकुञ्जको कार्यालय रहेको थियो तर द्वन्द्वकालमा यहाँबाट सुलिगाड सारिएको रहेछ।

दुई घण्टाको उकालो हिँडाइपछि तालको क्षेत्र पुग्ने बेला सुन्दर सुलिगाड झरनाको दृश्यावलोकन गर्दै थकान मेटाउँदै प्रकृतिसँग लुकामारी गर्दै हिँडेपछि रिङ्मो गाउँ पुगिन्छ।

९०० वर्ष पुरानो रिङ्मो गाउँमा ३० देखि ४० हजार वर्ष अगाडि पहिरोबाट रोक्ने बाँध बाँध्दा रिङ्मो ताल बनेको भन्ने जनश्रुति र विश्वास कायम छ। बाँध बाँधेसरी तालको पानी बगेर चट्टानबाट झर्दा १६७ मिटर अग्लो सुलिगाड झरनाको रूपमा मनोरम दृश्य देख्न पाइन्छ।

शे-फोक्सुण्डो तालसम्म पुग्नको लागि निकुञ्ज क्षेत्रमा पदयात्रा गर्नुपर्ने हुँदा यहाँ पाइने विभिन्न प्रजातिका पुतलीहरू र २०० भन्दा बढी प्रजातिका चराचुरूङ्गीहरू हेर्ने दुर्लभ अवसर पनि मिल्छ।

हिँड्दा नाउरको बथान सँगको जम्काभेट र हिँडेको दृश्यले झनै मन लोभ्याउँछ।

रिङ्मो गाउँमा ६० भन्दा बढी घरहरूका साथै सुविधायुक्त होटल र होमस्टे छन्।

होमस्टेमा अर्गानिक खानाको स्वाद लिँदै सुन्दर प्रकृतिसँग रमाउँदै हिमाली हावाको स्पर्श लिन पाइन्छ। अनि निर्दोष डोल्पो जनजातिहरूको सत्कार र आतिथ्यले सबैलाई लोभ्याइरहेको पनि हुन्छ।

यहाँको जग्गा किनबेच र कित्ताकाटमा सरकारले रोक लगाएको छ। रिङ्मो गाउँमा सेम्दुक लातेन गुम्बा रहेको छ।

तालको पूर्व र दक्षिणतिर रहेको कोणधारी जंगलले ताललाई अझै मनमोहक बनाएको छ।

त्यतै  छेउमा प्राचीन थासिङ छोलिङ गुम्बा छ। गुम्बा छेउबाट ताल र रिङ्मो गाउँको दृश्य मनमोहक देखिन्छ। नजिकै नेपाली सेनाको निकुञ्ज सुरक्षा ब्यारेक छ।

गाउँ नजिकको क्याम्प साइटमा वर्ल्डलिंकको फ्री वाईफाई प्रयोग गर्न पाइन्छ। जसले विश्वको कुनामा तालबाट कुरा गर्न र तालको दृश्य शेयर गर्न सकिन्छ।

३,६११.५ मिटर (११,८४९ फिट) को उचाइमा रहेको १३७ मिटर गहिरो अल्पाइन ताजा पानीको शे-फोक्सुण्डो ताल अल्पाइन हावापानी क्षेत्रमा रहेको र पानी निकै चिसो भएकाले कुनै पनि जीवजन्तुहरू नपाइने रहेछ। यो ताल अंग्रेजी अक्षर वाई (Y) आकारमा फैलिएको छ। क्षेत्रफल ४.९४ वर्गकिलोमिटर, लम्बाई ५.१५ किलोमिटर र चौडाई ८०० मिटर छ।

यो ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत भएको छ।

तालको दक्षिण पश्चिम किनाराबाट चट्टान काटेर हिँड्ने बाटो छ यही भिरबाट क्याराभान फिल्ममा चौंरी खसेको दृश्य खिचिएको रहेछ।

यही गागर भएर शे-गुम्बा हुँदै साल्दाङ भएर उपल्लो डोल्पा जाने मार्ग हो। यही मार्गबाट अगाडि हिँडेपछि पहिलो भ्यू टावर पुगिन्छ, त्यहाँबाट  दक्षिणमा रहेको रिक्मो गाउँ र तालको सुन्दर दृश्य देखिन्छ।

तालको पानीले हरेक घण्टामा रंग बदलिरहेको जस्तो लाग्छ। अझै माथि पुगेपछि वाई आकारको ताल देख्न सकिन्छ।

सागर ताल र अन्य लेकबाट उत्पत्ति भएर आएका खोलाहरू मिसिई बनेको सागर खोलाले बर्सेनि बगाएर ल्याएको गेग्रानले त्यतातर्फको भाग पुरिँदै गएको देखिन्छ।

फोक्सुण्डो खोलातर्फ अर्को हाँगा रहेको छ। हावा चलेको हुँदा त्योभन्दा अगाडिको दृश्यहरू हेर्ने इच्छा हुँदाहुँदै फर्किन बाध्य भयौं।

तीनै तिरबाट अग्ला चट्टानी लेकहरूले घेरिएको ताल साँच्नै नै प्रकृतिको अनुपम उपहारको रूपमा रहेको छ। अग्ला लेक र चुलीहरूमा प्रशस्त मात्रामा यार्सागुम्बा पाइन्छ। सबभन्दा छोटो र सजिलो पदमार्गको रूपमा रहेको यो यात्राको अवधिमा सबै किसिमका प्रकृतिसँग साक्षात्कार गर्ने अवसर मिल्छ।

तल्लो डोल्पादेखि उपल्लो डोल्पासम्मको संस्कृति, वेशभूषा र रहनसहनको अनुभव लिन पाइन्छ।

अनि यहीबाट शे-गुम्बा हुँदै उपल्लो डोल्पा र मदुवा, टेम्चे, बागलफेदी भएर धो-तराप सम्मको पदयात्रामा जान सकिन्छ।

निलो फोक्सुण्डो ताल, ९०० वर्ष पुरानो रिङ्मो गाउँ, परम्परागत घरहरू, फोक्सुण्डो ताल वरपरका २० वटा गुम्बाहरू, थासुङ छोलिङ गुम्बा र सुलिगाड झरना लगायतका आकर्षणहरूले गर्दा यहाँ आउन सबैलाई मोहित गरेको हुन्छ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य र बोन्पो धर्म पर्यटकका लागि थप आकर्षणको केन्द्र बनेको छ।

शे-फोक्सुण्डो ताल पुगेपछि हिमाली गाउँ र विभिन्न जातजातिको संस्कृति पर्यटकका लागि थप अध्ययनको स्रोत बनेको छ।

तालबाट विश्वको सातौं अग्लो धौलागिरी हिमाल, सिस्ने हिमाल, अपि हिमाल, साइपाल हिमाल, काँडे हिमचुली, तिब्बतको हिमाली दृश्यलगायत हिमालको झलक पनि हेर्न सकिने हुँदा सधैं सबैलाई आकर्षित गरिरहेको छ।

किन घुम्न आउने?

१) पहाड, कन्दरा, इतिहास, संस्कृति, भाषा–समुदाय, खोला–नाला, वन–जंगलको बारेमा बुझ्न र अनुभव लिनको लागि।
२) विश्वको सातौं अग्लो शिखर धौलागिरि हिमाल, सिस्ने हिमाल, अपि हिमाल, साइपाल हिमाल, काँडे हिमचुली, तिब्बतको हिमाली दृश्यलगायत हिमालको झलक हेर्नको लागि।
३) जैविक विविधता, प्राकृतिक सौन्दर्य, बोन्पो धर्म, प्राचीन, दुर्गम, हिमाली गाउँ र विभिन्न जातजातिको संस्कृतिको बारेमा अनुभव लिनको लागि।
४) साहसिक पदयात्राको अनुभव लिनको लागि।
५) जलवायु परिवर्तनको प्रभाव तथा वनस्पति र वन्यजन्तु संरक्षणको बारेमा अध्ययन गर्नको लागि।
६) शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले वनजन्तु र वनस्पति संरक्षणमा खेलेको भूमिका र योगदानको बारेमा जानकारी लिनको लागि।
७) स्थानीय समुदाय, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य संस्थाहरू बीचको सम्बन्ध र सहकार्यको  माध्यमबाट वन्यजन्तु संरक्षणमा पुगेको योगदान बारेमा बुझ्नको लागि।
८) लोपोन्मुख वन्यजन्तुका प्रजातिहरू नाउर, हिउँ चितुवा, खैरो ब्वाँसो र कस्तुरी मृग आदिको बासस्थान र अवस्थाको बारेमा जानकारी लिन।
९) मृत्यु संस्कार र बहुपति प्रथा जस्ता अलौकिक संस्कृति र संस्कारहरूको बारेमा बुझ्नको लागि।
१०) डोल्पो (भोटे) समुदायको भाषा, लिपी, संस्कृति, कला, साहित्य र सम्पदाहरूको संरक्षण र विकासको अवस्था बारेमा जानकारी लिनको लागि।
११) प्राकृतिक स्रोतहरू हावा, पानी, माटो र घामको एकैपटक स्पर्श र अनुभव लिनको लागि।

(लेखक छार्का ताङसोङ गाउँपालिका, डोल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन्)

सेतोपाटीबाट