इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो

८ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरिएको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा स्पानिस क्लब सेभियासँग ३–० ले पराजित भएपछि युनाइटेड समग्रमा ५–२ ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । सो खेलमा युनाइटेडले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेको थिएन ।

सेभियाको मैदानमा भएको दोस्रो लेगमा पनि युनाइटेडको प्रदर्शन कमजोर रह्यो । सेभियाका लागि युसुफ एन नेस्रीले आठौं र ८१औं मिनेटमा गोल गरे । लोइक बेडले ४७औं मिनेटमा एक गोल गरे ।

सेभियाले अब सेमिफाइनलमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई समग्रमा २–१ ले पराजित गर्यो । पहिलो लेगमा १–० को जित निकालेको युभेन्ट्सले दोस्रो लेगमा १–१ को बराबरी खेलेको थियो ।