३ वैशाख, चितवन । नेपाल एमाले का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने बताएका छन् ।
गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
चुनाव प्रचारका लागि चितवन आएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए । ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’ नेता भट्टराई भन्छन्, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’
उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपिल गरे । रवि लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि न्यौपानेलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको भन्दै भट्टराइले यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने ?