नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरमाथि गोली प्रहार हुनुको कारण दुर्घटना भएको नेपाल प्रहरीले बताएको छ।
उनीमाथि नियतले नभई दुर्घटनावश गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो।
७४ वर्षीया तीर्थमाली बस्दै आएकी बालुवाटारस्थित घरमा गए राति करिब १० बजे गोली चलेको थियो। प्रहरीका अनुसार भिआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका हुन्।
तीर्थमाली नातामा प्रकाशकी हजुरआमा हुन्।
प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए।
‘प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको देखिएको छ। नियतवश गोली हानेको जस्तो देखिँदैन, दुर्घटना हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ जिसीले भने।
गोली लागेर तीर्थमाली घाइते भएकी छन्। खुट्टामा गोली लागेको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।
प्रहरीका अनुसार प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हवल्दार प्रकाशसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो। सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ।
शनिबार राति नयाँ वर्ष मनाउन प्रकाश ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका थिए। पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन्।
घटनामा संलग्न प्रकाशलाई शनिबार बिहान प्रहरीले बागडोलरबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नम्बर १ गणमा आन्तरिक थुनामा राखेको छ।