मन्त्री ज्ञवाली र भिम रावलबीच सावाल जवाफ

२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न आज बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिए पनि कुनै निर्णय निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नपर्ने अडान लिएका
थिए । समिति सभापति पवित्रा निरौला खरेलले मन्त्रीसँग समय लिएर मात्रै बैठक तय हुने बताइन् ।
‘भरसक भोलि नै बैठक बस्ने सोच हो र भोलि मन्त्रीज्यूको समय मिल्यो र सदन नरहने अवस्थामा ११ बजे नै बैठक बस्छौँ । तर अहिले नै यसलाई म ढुंगो दिन सक्दिन’ उनले भनिन् ।
सभापति खरेलले अर्को बैठक यकीन गर्न नसक्ने बताएपछि नेकपा सांसद भीम रावल कड्किए, ‘सभापतिज्यू देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस् । बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ । त्यो बैठकबाट निर्णय हुनुपर्छ । यसरी बैठकका विषयमा अहिले भन्न सक्दिन भन्न मिल्दैन । रावलले जवाफ माग गरेपछि सभापति खरेलले मन्त्रीको समय के हुनसक्छ भन्ने ख्याल गरेर आफूले त्यसो भनेको बताइन् । उनले समिति सदस्यहरुसँग छलफल गरेर अर्को बैठक तय हुने उल्लेख गरिन् । त्यसपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिइन् । तर, सांसदहरु बोलिरहे– अर्को बैठक कहिले बस्छ सभापतिज्यू, बैठकको मिति आजै तय हुनपर्छ ।
बोल्न सुरु गरिसकेका परराष्ट्रमन्त्री ज्ञवाली सांसदहरु बीचमा बोलिरहेपछि रोकिए । होहल्ला रोकिएपछि आफ्ना कुरा राखे ।
रावलका दुई प्रश्न
परराष्ट्रमन्त्री बोल्दाबोल्दै नेकपाका सांसद रावलले दुई प्रश्न गरे– एउटा, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्रीको हस्ताक्षर किन आउँदैन ? अर्को, बैठकमा मन्त्रीले आउँदिन भन्न मिल्छ ?
‘म प्रश्न गर्न चाहन्छु, परराष्ट्र (मन्त्रालय) ले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्तामार्फत् सञ्चार माध्यमलाई जानकारी दिन्छन् । यस्तो बेवारिसे वक्तव्य जारी गर्ने अनि भोलि बैठकमा आउँदिन भन्न मिल्छ ?’ सांसद रावलले एकैपटक दुई प्रश्न गरे ।
भारतले लिपुलेकमा सडक बनाएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको हस्ताक्षर नभएको विषय उनले उठाएका थिए ।
मन्त्रीको जवाफ – गुगल हेर्दा पनि भेटिन्छ
हस्ताक्षर किन आउँदैन भन्ने प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले अन्तर्रा्ष्ट्रिय अभ्यास हेर्न रावललाई सुझाव दिए । ‘डिप्लोमेटिक स्टेटमेन्ट, करेस्पोन्डेन्ट एक पटक हेरिदिनुभयो भने यो प्रश्न उठ्दैन’ उनले भने ‘त्यही वक्तव्यका आधारमा भारतले वक्तव्य दिइसक्यो । हामी यसलाई बेबारिस भन्छौं ।
यसबारे अन्न्तर्राष्ट्रिय अभ्यासहरु गुगलमा पनि हेर्न सकिने उनले बताए । ‘अन्तर्रा्ष्ट्रिय अभ्यासहरु के छन् यो त सजिलै हेर्न सकिन्छ होला नि, अघि केही साथीले मलाई गुगल हेर्न सुझाउनुभयो । गगुल हेर्दा पनि भेटिन्छ होला नि’ उनले जवाफ दिए ।
परराष्ट्र मन्त्रालयको वक्तव्य उच्च तहको राजनीतिक नेतृत्वको स्वामित्वमा जारी हुने मन्त्री ज्ञवालीले बताए । ‘टपमस्ट पोलिटिकल लिडरसिपको अनरसिपमा जारी हुने वक्तव्य हो त्यो, परराष्ट्रको प्रवक्ताको, सचिवको वा साउथ एसिया हेर्ने डिभिजनको वक्तव्य होइन ।
समितिमा किन नआउने भन्ने प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले अरु समितिहरुले बोलाएका कारण समय तालमेल मिलाएर मात्र अन्तर्राष्ट्रिय समितिको बैठकमा आउने
बताए । ‘अरु समितिहरुले पनि बोलाइ रहनुभएको छ, समितिहरुको बैठकहरुबीचमा तालमेल मिलाएर म नआउने भन्ने प्रश्नै भएन’ उनले भने । आफूले व्यक्तिगत कामका लागि समय नदिएको भन्न नमिल्ने बताए ।