कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुहोस् र आत्मआलोना गर्नुहोस् : हैनभने पार्टीले उचित निर्णय लिन्छ

उपाध्यक्ष विष्णु पौडेल

१७ चैत, धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज बिहान प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, नेता भीम रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाएका छन् । नेता रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले, रावलले आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने बताए ।

नेता पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताए ।

‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’