सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी

१७ चैत, काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । हिजो विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोज कुमार पासवानले नेतृत्व गरेका छन् ।

विहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज त्यसमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुनेछ ।

महोत्तरीबाट पैदल हिँड्दै काठमाडौं आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन गरेको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर दङ्गाल छन् ।