छिट्टै समाजवादी मोर्चा बन्ने निर्माण र घोषणा हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै समाजवादी मोर्चा बन्ने निर्माण गर्ने घोषणा गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

समाजवादी मोर्चा निर्माण गरेर कम्युनिष्टहरूको बृहत्तर एकताका लागि बहस सुरु गरिने बताउँदै उनले जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइनसकेको बताए । उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ ।’

अध्यक्ष प्रचण्डले माओवादी धाराका कम्युनिस्ट घटकबीच हाल त्यसबारे छलफल भइरहेकोभन्दै शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्ने बताए । समाजवादी मोर्चा बनेपछि कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जनाको पहल माओवादीले नै गर्ने उनको भनाइ छ ।

एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीहरूको एकताको पक्षमा रहेको बताउँदै उनले भने, ‘नेकपा फेरि पुर्नस्थापित गर्नुपर्छ भन्नेमा पनि त्यहाँ मत छ । त्यो मत क्रान्तिको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।’