काठमाडौँ । गणतन्त्र नेपालको चौथो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसद्मा बिहीबार भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भएका हुन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेल राष्ट्रपतिमा निर्वाचित भए ।
‘प्रचण्डजी गठबन्धन टुट्यो भनेर (बालुवाटारबाट) हिँड्नुभयो,’ १० पुसमा पौडेलले रातोपाटीसँग भनेका थिए, ‘अब हाम्रो हातमा केही रहेन । सबै गुम्यो । मैले साथीहरूलाई मनाउन सकिनँ ।’
बालुवाटारमा तत्कालीन गठबन्धन बिर्सजन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेपछि कांग्रेस घायल बनेको थियो । सोहीबीचमा एमालेको नेतृत्वमा बनेको सात दलीय गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने ।
एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नाउपाबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भयो । यो सहमतिसँगै राष्ट्रपति हुने सम्भावनाको ढोका बन्द भएपछि पौडेल रन्थनिएका देखिन्थ्यो । पौडेलको अभिव्यक्तिले पनि त्यो देखाउँथ्यो । तर फागुन १० सम्म आइपुग्दा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेसँग सहकार्य तोड्दै कांग्रेससँग सहकार्य गर्न तयार भएसँगै पौडेलको सपनाले पुनः जीवन पाएको थियो ।
यद्यपि, राष्ट्रपति बन्न नेता कृष्णप्रसाद सिटौलाले देखाएको उत्कट आकांक्षा पौडेलका लागि टाउको दुखाइ बनेको थियो । सिटौलाले अन्तिमसम्म पनि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवामाथि चर्को दबाब बढाएका थिए । कांग्रेस नेताहरूका अनुसार राष्ट्रपतिको उम्मेदवारमाथि छलफल गर्न फागुन ९ मा प्रधानमन्त्री प्रचण्डले देउवा दम्पती बालुवाटारमा डिनर खुवाउँदै वार्ता गरेका थिए । सो क्रममा प्रचण्डले राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई नै प्रस्ताव गरेका थिए ।
तर, देउवाले प्रचण्डको प्रस्ताव अस्वीकार गरे । त्यसपछि प्रचण्डले कांग्रेसबाट सिटौलालाई उम्मेदवार बनाउन देउवालाई प्रस्ताव गरेका थिए । फागुन ११ गते पनि कांग्रेस नेताहरूको छलफलमा प्रचण्डले सिटौलाप्रति झुकाव राखेका थिए । प्रचण्डसँगको छलफलमा सहभागी कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेसले सिटौलालाई उम्मेदवार बनाइदिए हुन्थ्यो भन्ने प्रचण्डमा चाहना थियो । ‘राष्ट्रपतिमा कांग्रेसले यस्तै निर्णय गर्नुपर्छ भन्ने छैन । तर म सिटौलाजी उम्मेदवार बनुन् भन्ने चाहन्छु,’ कांग्रेस नेतासँग प्रचण्डको भनाइ थियो । तर, प्रचण्डको इच्छा विपरीत देउवाले सिटौलालाई अन्य पदमा व्यवस्थापन गरेर पूर्ववचनअनुसार पौडेललाई नै अवसर दिनुपर्ने बताएका थिए ।
फागुन १३ गते बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने बचन दिएको बुझिएको छ । एक वर्षपछि राष्ट्रियसभाका एक तिहाइ सांसदको कार्यकाल सकिने र सोही बेलामा सिटौलालाई व्यवस्थापन गर्ने देउवाको बचन थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि पनि सकिने भएकाले सिटौलालाई राष्ट्रियसभा ल्याएर अध्यक्ष बनाउने देउवाले आश्वासन दिएको ती पदाधिकारीको भनाइ छ ।
बैठकमा पनि सिटौलालाई राष्ट्रियसभा अध्यक्षको बचन दिएर देउवाले राष्ट्रपतिमा पौडेलको नाम प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावलाई बैठकले अनुमोदन गरेपछि १३ गते दिउँसो ३ बजे ८ दलको समर्थनमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका थिए ।
यस्तो छ रामचन्द्रको रामकहानी
२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा तनहुँको व्यास नगरपालिका– ८ स्थिति मिलुङ, बाहुन पोखरामा जन्मिएका हुन् । सवितासँग विवाह गरेका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) तथा एक छोरा (चिन्तन पौडेल) छन् । व्यास नगरपालिका–८ बेलथुम्कीका स्थायी बासिन्दा पौडेल हाल काठमाडौँ महानगरपालिका– १६ बोहोराटारमा बस्छन् ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । पौडेल २०१५ सालदेखि विद्यार्थी सङ्गठनको राजनीतिमा जोडिए । २०१५ देखि ०२४ को समयमा उनी नन्दीरात्री माविको विद्यार्थी सङ्घको अध्यक्ष र रानीपोखरी मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बने ।
यो बीचमा पौडेललाई २०१७ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको महासचिव र २०२३ गण्डकी छात्र सङ्घको संस्थापक अध्यक्ष बन्ने अवसर पनि मिल्यो । सोही समयमा सरस्वती क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा सङ्घको संस्थापक महासचिव बने ।
२०२७ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) गठनमा महत्त्वपूर्ण भूमिका खेलेका उनी सङ्घको संस्थापक सदस्य पनि
भए । १९ वर्षको विद्यार्थी राजनीतिपछि मात्र जिल्ला तहबाट पार्टी राजनीतिमा पौडेलको प्रवेश भएको थियो । २०३४ नेपाली कांग्रेस तनहुँको सदस्य भएका उनी ०३६ मा जिल्ला उपसभापति भएका हुन् ।
पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुखका रूपमा २०४० सालमा पौडेल पार्टी केन्द्रीय राजनीतिमा आए । २०४३ मा कांग्रेस केन्द्रीय सदस्य बनेका उनी (२०६२–०६४) दुई वर्ष पार्टीको महामन्त्री भए । त्यसपछि उनी ०७२ सम्म पार्टी उपसभापतिको जिम्मेवारी रहे । सोही समयमा पौडेल कांग्रेस संसदीय दलको नेता पनि थिए । ०७२ सालमा भएको पार्टीको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए । यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा
रहे ।
गत वर्षसम्म १४ औँ महाधिवेशनमा प्रतिस्पर्धाबाट ‘रिङआट’ भए पनि वरिष्ठ नेतामा पौडेलको निरन्तरता कायमै भयो । १४ औँ महाधिवेशनमा आफ्नो गुट छिन्नभिन्न हुने देखेपछि उनी अन्तिम समयमा मौन बसेको विषयले काङ्ग्रेसभित्र तरङ्ग समेत उत्पन्न भएको थियो । जसको परिणामस्वरूप देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सहज बनेको थियो ।
६३ वर्ष लामो राजनीतिक जीवनमा पौडेलले करिब १५ वर्ष जेलमा बिताए । २०१८ देखि २०६२ सम्म विभिन्न अवधिमा गरी १५ वर्ष जेलमा उनको बन्दी जीवन व्यतीत भयो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।
पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ–२ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख बने ।
०५६ सालमा तनहुँ–२ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भएका पौडेलले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि
थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए ।
०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पौडेल तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । तर, प्रधानमन्त्री बन्ने पौडेलको उत्कट चाहना १७ पटकको प्रयासमा पनि असफल रह्यो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।
आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्किए भने पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी शृङ्खलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरिएको थियो । त्यसपछि खनालले प्रधानमन्त्रीमा बाजी गर्दा पौडेलको हातमा लाग्यो असफलता । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँपटक निर्वाचित भएका पौडेलले ०७४ को आम निर्वाचनमा तनहुँ – १ मा हार चाखे । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा भने पौडेलले तनहुँ–१ बाट संसदीय निर्वाचनमा छैटौँ जित दर्ता गरे । लामो र अथक राजनीतिक सक्रियता पौडेलको प्रमुख पुँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक सङ्घर्षहरूमा संलग्न पौडेलले पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरेको देखिन्छ । काङ्ग्रेसभित्र नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने नेताका रूपमा लिइन्छन्, उनी ।
पटक–पटक मन्त्री हुँदासमेत कुनै गम्भीर विवादमा नमुछिएका पौडेलको नेपाली राजनीतिमा इमानदार र निष्कलङ्क छवि छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सक्रिय राजनीतिबाट बिदा भएका छन् । अब संविधानको कसीमा बसेर राष्ट्रपतिको भूमिकामा विवादरहित भएर बिदा हुने चुनौती पौडेलमाथि छ ।
रातोपाटीबाट