मंसिर, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।
गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराउन लागिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।
संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै रवि र छविलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीबी फरार छन् ।