रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

एजेन्सी

रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

मोरक्कोमा गएराति भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि ४-१ गोल अन्तरको सहज जित निकाल्दै रियल उपाधि नजिक पुगेको हो।

केही मुख्य खेलाडी बिनानै मैदान उत्रिएको रियलले ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता बनायो।

पहिलो हाफमा १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ६५ औं मिनेटमा अल आलीले खेलमा फर्कने प्रयास गर्‍यो। अली मालोउलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २ – १ मा झारेको थियो।

खेलको ८७ औं मिनेटमा रियलले अग्रता बढाउने मौका गुमायो। लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियलले खेलमा ३-१ को अग्रता लिने मौका गुमायो। मोड्रिचको प्रहार अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले बचाएका थिए।

तर खेलको इन्जुरी समयमा रोद्रिगोले गोल गर्दै रियलले अग्रता ३-१ मा पुर्‍यायो। लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासको गोल गर्दै रियललाई ४-१ को स्पष्ट जित दिलाए।

रियलले अब शनिबार उपाधिका लागि साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। अल हिलाल ब्राजिलको फ्लामियालाई हराउँदै फाइनलमा पुगेको हो।

फ्लामियोलाई हराएर उपाधि नजिक पुगेलगत्तै साउदीका प्रिन्स अल वालिद विन तलालले प्रत्येक खेलाडीलाई २ लाख ६६ हजार पाँच सय अमेरिकी डलर बोनसको घोषणा गरेका थिए।