गौतमबुद्ध गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि प्रयास जारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि प्रयास जारी रहेको बताएका छन् ।
शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले विमानस्थल सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको स्पष्ट पारेका हुन् ।

‘हिजोका दिन के भयो मलाई धेरै जानकारी छैन, मैले जिम्मेवारी सम्हालेपछि भारतीय पक्षसँग विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु भएको छ । समस्या छिट्टै समाधान हुनेछ,’ उनले भने ।

मन्त्री किरातीले मुलुकको पर्यटन विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताए । पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकाले यो क्षेत्रको विकासका लागि सबैको सहकार्य जरुरी रहेको उनको धारणा छ ।

पहिलोपटक लुम्बिनी पुगेका मन्त्री किरातीले भने– ‘भगवान् बुद्ध जन्मेको भूमिमा पहिलो पटक पाइला टेक्न पाउँदा निकै खुसी लागेको छ । यसअघि यहाँ नआए पनि यसबारे जानकारी भने लिइरहेको थिएँ ।’

लुम्बिनी प्रदेशमा पर्यटक आकर्षित गर्न लुम्बिनीसहित बर्दियाको राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, कपिलवस्तु, रामग्राम, रोल्पा, रुकुम जोडेर पर्यटन प्याकेज बनाउन उनले सुझाव दिए ।