राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई उठाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने एक माओवादी नेताले जानकारी दिए ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।

लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।