अर्जेन्टिनाका युवा मिडफिल्डर इन्जो फर्नान्डेजलाई १२१ मिलियन युरो (१०७ मिलियन पाउन्ड) मा चेल्सी भित्रिदै

अर्जेन्टिनाका युवा मिडफिल्डर इन्जो फर्नान्डेजलाई १२१ मिलियन युरो (१०७ मिलियन पाउन्ड) मा भित्र्याउन इंग्लिस क्लब चेल्सी सहमत भएको छ।

प्रिमियर लिगमा यो कीर्तिमानी सम्झौता हुने बिबिसीले जनाएको छ। यसअघि सन् २०२१ मा म्यानचेस्टर सिटीले ज्याक ग्रेलिससँग १०० मिलियन पाउन्डमा सम्झौता गरेको थियो।

इन्जो पोर्चुगिज क्लब बेन्फिकाबाट इंग्लिस क्लब चेल्सीमा आबद्ध हुन लागेका हुन्। बेन्फिकाले इन्जो चेल्सीमा जान लागेको पुष्टि समेत गरको छ।

फिफा विश्वकप २०२२ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका २१ वर्षीय फर्नान्डेजले मेक्सिकोविरुद्ध गोल समेत गरेका थिए।

अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जित्दा टिममा प्रभावकारी भूमीका निर्वाह गरेका फर्नान्डेज यो सिजनको सुरुवातमा युरोप आएका थिए।

उनी अर्जेन्टिनाको रिभर प्लेटबाट १० मिलियन युरोमा २३ जुन २०२२ मा पोर्चुगलको बेन्फिकामा आबद्ध भएका थिए।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनलाई भित्र्याउन चेल्सीले छलफल अघि बढाएको थियो।