Breaking News

मन्त्रीपरिषद्मा पुरुष नै पुरुष भएपछि हतारहतार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीले राज्यमन्त्री नियुक्त गर्दै शपथ खुवाए

११ पुस, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले हिजो बुधबार चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिए । माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी आन्तरिक मामिला र भीमप्रकाश शर्मा भूमि व्यवस्था मन्त्री बन्दा एमालेबाट टेकराज पछाई सामाजिक विकास र जीतबहादुर मल्ल उद्योगमन्त्री बने ।

मुख्यमन्त्री शर्माले आफूले सपथ लिएकै दिन एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख समक्ष शपथ लिए । चियापान सकियो, सबै बाटो लागे । त्यसको करिव ४५ मिनेटपछि मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखको कार्यालयमा उर्मिला विकलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्‍यो । हतारहतार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीले उनलाई शपथ खुवाए ।

यसअघि जीवनबहादुर शाही मुख्यमन्त्री भएका बेला ८ मन्त्रिपरिषद्मा पुरुष मात्रै भएको भन्दै चर्को आलोचना भएको थियो । यो पटक पनि पुरुष नै पुरुषमन्त्री भएपछि हतार हतार महिला सांसदलाई राज्यमन्त्री बनाइएको एक नेता बताउँछन् ।