खर्च गर्न नसकिएको बजेट आफूर्तिर खिच्दै अर्थमन्त्रालय

२५ बैशाख, काठमाडौं । विभिन्न मन्त्रालयले खर्च गर्न नसकेको बजेट अर्थमन्त्रायले धमाधम फिर्ता तानिरहको छ । चैत मसान्तसम्म २० अर्ब बजेट फिर्ता लगेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनले भने, ‘चैत मसान्तसम्म खर्च नभएको बजेट कानुनत फिर्ता गर्नुपर्ने हुन्छ । त्यस्ता बजेट हालसम्म २० अर्ब रुपैयाँ विभिन्न मन्त्रालयबाट सरेण्डर भएको छ ।
सरकारले बजेट कार्यान्वयन गर्न बनाएको कार्यविधि अनुसार चैत मसान्तसम्म खर्च नभएको र हुन नसक्ने देखिए बजेट सरेण्डर (फिर्ता) गर्नुपर्नेछ । अर्थात यो आयोजनामा खर्च गरेनौ वा गर्न सकेनौ भनेर बजेट फिर्ता गर्नुपर्ने हुन्छ ।
कोभिड १९ सँग लड्न स्रोत व्यवस्थापनका लागि यसअघि अर्थमन्त्रालयले विभिन्न १४ शीर्षकका बजेट रोक्का गरिसकेको छ । बजेट सरेण्डर पनि स्रोत व्यवस्थापनको अर्को उपाय हो । खतिवडाका अनुसार राजस्वमा दबाब परेकाले वैदेशिक सहायतको लागि विभिन्न दातृनिकायसँग कुरा भइरहेको छ । हालसम्म डेढ खर्ब प्रतिवद्धता जनाइ सकेको उनले बताए ।

अर्थमन्त्री डा. खतिवडाले संसदीय समितिमा बोल्दै बजेट खर्च हुन नसक्नु कोभिड १९ कारण मात्र नभइ आर्थिक बर्षको शुरुदेखिनै बजेट खर्च हुन नसकेको बताए । पुँजीगत खर्चपनि निर्माण व्यवसायीको विविध अवरोधका कारण हुन नसकेको उनले जानकारी दिए ।
कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरण गर्ने गरी बजेट निर्माण भइरहेको अर्थमन्त्रीले जनाए । संवैधानिक व्यवस्था अनुसार यहि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुनेछ । अर्थमन्त्रीले यसपटक बजेटमा नयाँ कार्यक्रम पार्न नसकिने भन्दै आएका छन् ।