स्थायी कमिटी बैठक स्थगित भएपनि धुम्बाराहीमा भेला सम्पन्न

२५ बैशाख, काठमाडौं । हिजो बसेको पार्टीका सचिवालय बैठकमा सहमति नहुँदा आज तोकिएको स्थायी कमिटी बैठक स्थगित भएपछि केही स्थायी कमिटी सदस्यहरू आज बिहीबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन् । नेकपाले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक बुधबार साँझ दुई अध्यक्षले छलफल गरेर अकस्मात स्थगित गरेपछि उनीहरू आज धुम्बाराहीमा भेला भएका हुन् । बैठकको माग गरेका सबैजसो स्थायी कमिटी सदस्यहरू धुम्बाराही आउनुभएको छ ।
यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।
स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको थियो ।

एजेन्डा र प्रस्ताव पास गर्न बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक बोलाउन अनिच्छुक देखिएपछि बैठक रोकिएको हो ।
बैठक रोकिएपछि बुधबार नै केही स्थायी समिति सदस्यहरूले बैठकबाट भाग्न नमिल्ने बताएका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन् । बैठक चलाउन नसक्ने, सचिवालय बैठक छाडेर हिँड्ने, अनि स्थायी समिति बैठक बोलाउन नमान्ने भनेको त बोलाउन नचाहेको भन्दा पनि बैठक चलाउन नसकेको भन्ने हुन्छ,’ उनले भने, ’प्रधानमन्त्रीको यो गतिविधिले नकरात्मक सन्देश गएको छ ।