लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्।

सात वटा दलका ५६ र दुई जना स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले बिहीबार दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा विश्वासको मत लिएका हुन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्।

यसअघि मुख्यमन्त्री नियुक्ति हुँदा समर्थन नगरेको एकीकृत समाजवादीले पनि गिरीलाई विश्वासको मत दिएको छ।

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएकी छन्।

योसँगै प्रदेश सरकारलाई ८ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र सांसदको समर्थन पुगेको छ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी उपस्थित भएनन् भने सभामुख तुलाराम घर्ती मतदानमा सहभागी भएनन्।

८७ सदस्यीय रहेको प्रदेश सभामा बिहीबारको बैठकमा ८६ जना सांसद उपस्थित थिए। जसमा मुख्यमन्त्री गिरीको पक्षमा मतदानमा ५७ र विपक्षमा २८ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादीका १ र दुई जना स्वतन्त्र सांसदहरूको सहित ५७ जनाले पक्षमा मतदान गरेको संसद सचिवालयले जनाएको छ।

विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन्।