डा. तोसिमा कार्कीको छलाङ : एकै पटक स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी वहन

३ माघ, काठमाडौ । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा डा. तोसिमालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

१० वर्षदेखि चिकित्सा क्षेत्र सुधारको अभियानमा सक्रिय डा। तोसिमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीकै आकांक्षा राखेकी थिइन् । तर उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय लिएपछि तोसिमा राज्यमन्त्री मात्रै बनिन् ।

राष्ट्रिय राजनीतिमा डा. तोसिमाको चर्चा भने ४ मंसिरको चुनावमा तत्कालिन ऊर्जा मन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाललाई चुनावी चुनौती दिएपछि सुरु भएको थियो । ललितपुर–३ बाट भुसाल र एमालेका अमृत खड्कालाई पछि पार्दै प्रतिनिधिसभा सदस्य जितेपछि तोसिमाको चर्चा थप फराकिलो बन्यो ।

राजनीतिक समीकरण बदलिएर प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदा उनी राज्यमन्त्री बन्न पुगिन् । तोसिमा राज्यमन्त्री भएपनि अपेक्षा भने उनीसँग अरु मन्त्री भन्दा कम छैन ।

किनकि राजनीतिमा प्रवेश गर्नु र सांसद बन्नु अगाडि जुन एजेण्डा उठाएर अभियान चलाइरहेकी थिइन्, त्यही क्षेत्रको राज्यमन्त्री बनेकी छन् । अर्थात्, तोसिमालाई आफैले उठाएको सवाल र एजेण्डा पूरा गर्नुपर्ने चुनौती छ ।

नेपाल मेडिकल काउन्सिलको सदस्य भइसकेकी डा। तोसिमाले विशेषगरी डा।गोविन्द केसीले उठाउने एजेण्डालाई साथ दिँदै आएकी थिइन् । त्यस अर्थमा डा।केसीले उठाएको एजेण्डा कार्यान्वयन गर्ने अवसर पनि तोसिमालाई छ ।

‘स्वस्थ नेपाली, सुखी नेपाली’ लाई आफ्नो लक्ष्य बनाएकी डा। कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यचिकित्सकका रुपमा काम गर्दागर्दै राजनीतिमा होमिएकी डा। कार्की छोटो अवधिमा यति ठूलो ठाउँमा पुग्ने कमै व्यक्तिमा पर्छन् ।