रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो ।

अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक डलर बराबर १३०.८५ रुपैयाँ हुँदा १ लाख १७ हजार १०८.३३ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यसअघि ईपीएस मार्फत कोरिया जाने कामदारहरूले १२०० डलरभन्दा बढी पैसा तिर्दै आएका थिए ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले उक्त सम्झौता एक वर्षसम्मको लागि लागू हुने बताए । सम्झौता अनुसार ईपीएस मार्फत कोरिया गएका श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट समेत दिइने छ ।

यसअघि नेपाली श्रमिकहरू निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाडा घटाउने विषय पहल थालेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस कोरिया शाखाले हवाई भाडा घटाउन पहल गरेको थियो ।

कोरोना महामारीपछि कोरियाले सिधा हवाई उडानमार्फत मात्र नेपाली कामदार लैजाने सर्त राखेको थियो । कोरियन एयरले मात्र नेपालबाट सिधा उडान गर्दै आएको थियो । जसले गर्दा भाडा महँगो हुन पुगेको थियो । ट्रान्जिट गरेर कामदार पठाउन नपाइने भएपछि नेपाली श्रमिकहरू एक मात्र एयरबाट कोरिया जान बाध्य छन् ।