आइतबार दिउँसो गठबन्धन टुट्ने घोषणा गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट हिँडे। प्रधानमन्त्री शेरबहादुर देउवालाई भने गठबन्धन टुट्छ भन्ने रत्तिभर लागेको थिएन। प्रचण्ड हिँड्ने बेला देउवाले भने, बालकोटमा कुरा मिलेन भने फेरि आउनु होला।
देउवालाई मात्र होइन, उनी वरिपरिका मानिसलाई पनि गठबन्धन टुट्छ भन्ने विश्वास थिएन। किनभने, उनीहरूले दाइ सँगसँगै भाउजू आत्मविश्वास पनि देखेका थिए। गठबन्धनको तेस्रो ठूलो दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि गठबन्धन टुट्नेमा विश्वास थिएन।
प्रचण्ड उठेर हिँडेपछि पनि अध्यक्ष नेपालले अझै केही घन्टा समय बाँकी भएको र गठबन्धन जोगाउने कुरा प्रधानमन्त्रीको हातमा रहेको सेतोपाटीसँग बताएका थिए।
खुमलटार गए पनि, बालकोट गए पनि प्रचण्ड फर्किएर आउँछन् भन्ने देउवाको कोरटिमुलाई पूर्ण भरोसा थियो। बालकोटमा प्रचण्डसहित धैरै दलका नेता भेला हुँदा पनि उनीहरूलाई त्यहाँ सहमति हुन्छ भन्ने विश्वास थिएन।
जब प्रचण्डको नाममा सहमति भएको सूचना राष्ट्रपति कार्यालय पठाइएको खबर बाहिर आयो, उनीहरू छाँगाबाट खसेझैं भए।
प्रचण्ड कुनै हालतमा गठबन्धन छाडेर जाँदैनन् र गए पनि एमालेले उनलाई प्रधानमन्त्री बनाउँदैन भन्नेमा देउवाको कोरटिम पूर्ण विश्वस्त थियो। यो विश्वास स्वयं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई दिलाएका थिए। यो विश्वासको थप आधार भारत थियो, जसले कांग्रेस र एमाले दुवैसँग कुरा गरेको थियो।
यही विश्वासका आधारमा देउवाले प्रचण्डसँग केही साताअघि गरेको समझदारी लत्याएका थिए।
नेपाली कांग्रेसमा संसदीय दलका नेताको निर्वाचन हुनुअघि देउवा र प्रचण्डबीच सत्ता साझेदारीको सहमति बनेको थियो। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको उपस्थितिमा भएको उक्त समझदारीमा सुरूमा प्रचण्ड दुई वर्ष प्रधानमन्त्री बन्ने र पछिको तीन वर्ष देउवा प्रधानमन्त्री बन्ने उल्लेख थियो। दुवैले सहमतिलिखित गर्न जरूरी नरहेको बताएका थिए।
देउवा र प्रचण्ड दुई-दुई वर्ष र माधव नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको कुरा मिडियामा आएको भए पनि त्यसमा कुनै सहमति भएको थिएन। देउवाले प्रचण्डसँग गरेको सहमति लत्याउँदै पछि उनलाई भने, तपाईंलाई सुरूमा प्रधानमन्त्री दिन साथीहरूले मानेनन्, मैले नसक्ने भएँ।
सहमति तोड्न नहुने र प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री दिनुपर्नेमा अन्तिम समयसम्म रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौलाले बल गरेका थिए। पौडेललाई राष्ट्रपति बनाउन देउवा र प्रचण्डबीच सहमति पनि भइसकेको थियो।
आइतबार बिहानको बैठकमा पनि प्रचण्डकै उपस्थितिमा, पौडेल, खड्का र सिटौलाले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री दिन जोड गरेका थिए। नेता नेपालले पनि सहमति पालना गर्न देउवालाई आग्रह गरेका थिए।
सबभन्दा ठूलो जोड पूर्णबहादुर खड्काको थियो। उनले सुरूमा प्रचण्डलाई नै छाड्न बल गरेपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग वादविवाद पनि भयो। झन्डै धकेलाधकेलको अवस्था आएको थियो, बैठकमा सहभागी एक जनाले भने।
सहमतिविपरीत प्रचण्डलाई प्रधानमन्त्री नदिने निर्णयमा देउवा पुग्नुका पछाडि प्रमुख कारण थियो, उनले एमाले अध्यक्ष केपी ओलीसँग छुट्टै गरिरहेको कुराकानी। त्यो कुराकानीमा भारतको पूर्ण समन्वय थियो।
पछिल्ला केही दिनदेखि कांग्रेसका दुई नेताले ओलीसँग भेटेर कुरा गरिरहेका थिए। तीमध्ये एक थिए, देउवाका विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की। प्रधानमन्त्री पत्नी आरजु देउवाले पनि ओलीसँग भेटेर कुरा गरेको भने पनि त्यसको पुष्टि हुन सकेन। कांग्रेस र एमालेबीच भएको उक्त छलफलमा फरक(फरक समयमा एमाले नेताहरू शंकर पोखरेल र विष्णु पौडेल पनि सहभागी थिए।
दुवै दलले प्रचण्डलाई प्रधानमन्त्री नदिने, बरू आफूहरू मिलेर सरकार बनाउने सहमति गरेका थिए। प्रचण्डलाई सत्ताबाहिर राख्ने यो खेलमा भारत संलग्न मात्र थिएन, त्यसको सूत्रधारजस्तै थियो।
यसरी प्रचण्डलाई सत्ता बाहिर राख्न भारतले प्रयत्न गरेको पहिलोपटक होइन।
केपी ओलीले संसद विघटन गरेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर सरकार नबनाऊन् भनेर भारतले ठूलो प्रयत्न गरेको थियो। ओलीको नेतृत्वमा चुनावमा गए एमाले र कांग्रेस दुई शक्तिको मात्र नेपाली राजनीतिमा वर्चश्व कायम हुने र माओवादी केन्द्र खुम्चिँदै जाने भारतको विश्लेषण थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति भारतको लामो समयदेखि वक्रदृष्टि छ।
आइतबार १२ बजे पनि ओली र देउवाबीच मिलेर जानेबारे अन्तिम सहमतिको फोन(वार्ता भएको थियो। एमाले नेताहरूसहित ओली साढे ३ बजे बालुवाटार आउने र संविधानको धारा ७६९२० अनुसारको सरकार बनाउने सहमति दुई दलबीच भएको थियो।
त्यही सहमतिको बलमा देउवा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री दिनबाट पछि हटेका थिए।
प्रचण्ड १२स्४५ बजेतिर गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिए। आफूलाई पहिलो चरणमा प्रधानमन्त्री दिन प्रयत्न गरेका कांग्रेस उपसभापति खड्कालाई जाने बेला प्रचण्डले भने, तपाईंले धेरै प्रयत्न गर्नुभयो। सक्नुभएन। यसपालि यस्तै भयो। फेरि पछि अर्को परिस्थितिमा कुरा गरौंला।
प्रचण्डलाई कांग्रेस र एमालेबीच भएको कुराको कुनै भेउ थिएन। कांग्रेसले ५ बजेसम्म समय घर्काएर ७६९३० अनुसार अल्पमतको सरकार बनाउन खोजेको अनुमान उनले गरेका थिए। त्यसरी सरकार बनाएपछि आफूहरूलाई लतारेर सरकारमा लैजाने कांग्रेसको रणनीति भएको उनको आशंका थियो।
गठबन्धन छाडेर आए आफूहरू मिलेर सरकार बनाउन तयार रहेको बचन ओलीले माओवादी नेताहरूमार्फत् प्रचण्डलाई दिइरहेका थिए। उनी बालकोटमै शंकर पोखरेल र विष्णु पौडेलसँग कुरेर बसेका थिए।
प्रचण्ड बालुवाटारबाट निस्केर खुमलटार गए। कांग्रेससँग कुरा सकिएको र एमालेसँग कुरा बढाउनुपर्ने बताए। एमाले नेताहरूसँग कुरा गरिरहेको उनको टिमका नारायणकाजी श्रेष्ठ र देव गुरूङलाई बालकोट पठाए। पछि वर्षमान पुन पनि बालकोट पुगे।
प्रचण्ड करिब साढे एक बजेतिर बालकोट पुगे। राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लगायत नेता पनि बालकोट पुगे। सबै दलका नेताहरू बालकोटमा भेला भइरहँदा पनि बालुवाटारलाई त्यहाँ सहमति हुन्छ भन्ने रत्तिभर विश्वास थिएन।
प्रधानमन्त्रीको टिम घडी हेर्दै साढे तीन बजे ओली आउने समय कुर्दै थियो। जब साढे तीन बजे प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति बालकोटमा भयो, देउवासहित उनको टिम छाँगाबाट खस्यो।
उनीहरूले यो कसरी भयो, किन भयो भन्ने विश्लेषण अझै गर्न सकेका छैनन्। देउवालाई यसपालि जीवनकै सबभन्दा ठूलो धोका भएको उनीनिकट एक नेताले बताए।
शेरबहादुर दाइले जीवनमा कति उतारचढाव बेहोर्नुभयो, उहाँसग कतिले धोकाधडी गरे होलान् तर यति ठूलो धोका उहाँलाई यसअघि भएको थिएन, उनले भने।
एमालेको मात्र बचन भएको भए देउवाले सायद विश्वास गर्ने थिएनन्। तर कांग्रेस र एमालेबीचको सहमतिमा भारतको पनि संलग्नता थियो। उसले मध्यस्थताजस्तै गरेको थियो। त्यसैले ओलीले आफूलाई धोका दिन सक्दैनन् भन्ने देउवाले ठानेका थिए। त्यसमा ढुक्क भएपछि मात्र उनले प्रचण्डलाई धोका दिने निश्चय गरेका थिए। रामचन्द्र पौडेलले आइतबार ुप्रचण्डले धोका दिएको होइन, उनलाई धोका भएको होु भन्नुको कारण यही थियो।
देउवाको कोर-टिम अहिले ओलीले मात्र आफूलाई धोका दिएका हुन् वा भारतले पनि धोका दिएको हो भनेर दुबिधामा छ।
दक्षिणले अन्तिममा ओलीलाई मिलाउन सकेन वा उसले ओलीसँग मिलेर हामीलाई धोका दियो, म यसै भन्न सक्दिनँ, एक नेताले भने।
ओलीले दुवैपटक संसद विघटन गर्दा भारतको साथ थियो। ओली र भारतबीच लामो मनमुटावपछि दुवैले सुलह गरेका थिए। भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलले २०७७ कात्तिक ५ गते केपी ओली प्रधानमन्त्री भएकै बेला उनलाई मध्यरात बालुवाटारमा भेटेका थिए। ओलीलाई भेट्न उनी भारतीय वायुसेवाको विशेष विमान चढेर आएका थिए।
त्यसपछि भारत ओलीको पक्षमा खुलेरै लागेको थियो। उनको नेतृत्वमा चुनाव गराउन भारतले सकेसम्मको बल लगाएको थियो। भारतले सुरूमा ओलीकै नेतृत्वमा सरकारमा गएर चुनावमा भाग लिन कांग्रेसलाई फकायो। पछि थोरै धम्क्यायो पनि।
देउवाले पनि एमालेको सरकार ढाल्नेभन्दा ओलीको नेतृत्वमै चुनावमा जान लामो समय प्रयत्न गरेका थिए। ओलीविरूद्ध उभिन पार्टीभित्र तीव्र विरोध भएपछि र प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादवले बारम्बार बिनासर्त प्रधानमन्त्री बनिदिन आग्रह गरेपछि बल्ल देउवा तयार भएका थिए।
त्यो बेला भारतले भनेको नमानेको र ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाएको बदला अहिले भारतले पनि मिलेर लियो कि भन्ने शंका बालुवाटारलाई छ। तर अहिले ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बनेकाले एमालेले नै आफूलाई धोका दिएको हो भन्ने तर्क पनि बालुवाटारमा बलियो छ।
अहिले के भयो, कसरी भयो, कसले गर्यो भन्ने सबै विश्लेषण गर्ने अवस्था पनि छैन। समयमा त्यो सबै कुराको विश्लेषण होला,’ एक नेताले भने।
सेतोपाटीबाट