२७ मंसिर, काठमाडौं । ६५ वर्षे उमेरहदका कारण आजबाट निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अवकाश पाएका छन् ।
न्यायपरिषदको अभिलेख अनुसार, २८ मंसिर २०१४ सालमा जन्मेका जबरा बुधबारदेखि ६५ वर्ष पूरा भएका छन् । संविधानमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको उमेरहद ६५ वर्ष भन्ने उल्लेख भएका कारण उनी प्रतिनिधिसभामा महाभियोग विचाराधीन रहेकै अवस्थामा अवकाश भए ।
‘आजसम्म उहाँ निलम्बित अवस्थामा भए पनि प्रधानन्यायाधीश हुनुहुन्थ्यो, जसमाथि पदमा बहाल भएकै अवस्थामा अख्तियार वा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने परिकल्पना छैन, महाभियोगबाट मात्रै कारबाही अघि बढ्नसक्थ्यो’ नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ भन्छन्, ‘अवकाश पाएको पदाधिकारीलाई गैरकानुनी सम्पत्ति आर्जन वा सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान अघि बढाउन अब बाधा पर्दैन ।’
संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । कुनै विशेष पदमा रहेका कारण भ्रष्टाचारको आरोपमा छानबिन हुन नसक्ने पदाधिकारीहरुलाई अवकाशपछि अख्तियारले छानबिन गर्न पाउँछ ।
धारा २३९९२० मा भनिएको छ, ‘महाभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्ति, न्यायपरिषदबाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐन बमोजिम कारबाही हुने व्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि संघीय कानुन बमोजिम अनुसन्धान गर्न र गराउन सकिनेछ ।’