महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र मेरो हातमा आएको छ अब म सर्वोच्च अदालत जान्छु

महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार सर्वोच्च अदालत जाने भएका छन्।

संसद सचिवालयले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र आएकाले अदालत जान लागेको राणाले बताए

‘पहिला कार्य सम्पादन गर्न नपाउने गरी भएकोमा संसद नै गइसकेको हुनाले निष्प्रभावी भएको जानकारी गराइन्छ भनेर पत्र आएको छ,’ राणाले भने,‘म व्यवस्थापन गरेर आजै अदातल जान्छु।’

संसद सचिवालयले राणालाई पत्र पठाइसकेको पुष्टि गरेको छ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राणाको महाअभियोगका विषयमा पत्र पठाइएको पुष्टि गरे।

‘पत्र आजै सम्बन्धित सबै निकायमा पठाइएको छ। व्यहोराबारे मैले पनि बुझ्दैछु,’ धमलाले भने।

राणाविरूद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।