कोरोना भाइरस कुनै ल्यापबाट उत्पति नभएर प्राकृतिक रुपमा विकास भएको हो

एजेन्सी

२३ वैशाख, डोटी ।
‘फाइभ आइज नेसन्स’ सँग साझा गरिएको गुप्तचरको सूचनामा कोरोनाभाइरसको महामारी कुनै प्रयोगशालामा दुर्घटना भएर सुरुवात नभएको र सम्भवतः चीनको बजारबाटै सुरुवात भएको उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सेक्रेटरी अफ स्टेट माइक पोप्पेओको दाबी विपरित फाइभ आइज नेसन्सका दुई अधिकारीले गुप्तचरको मूल्यांकन रिपोर्टलाई उद्धृत गर्दै सो कुराको जानकारी दिएका हुन् ।
‘हामीलाई लाग्छ यो कुनै दुर्घटना थिएन,’ रिपोर्टबारे जानकार ती कुटनीतिक अधिकारी भन्छन्, ‘यो प्राकृतिक रुपमा विकास भएको र जनवारसँगको सम्पर्कबाट मानिस संक्रमित भएको हुने सम्भवना प्रबल छ ।’ दोस्रो अधिकारीले पनि यही कुरामा सहमति जनाए ।
फाइभ आइज गठबन्धनमा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । यी देशहरुले एक अर्कासँग थुप्रै गुप्तचरको सूचनाहरु साझा गर्छन् । फाइभ आइज राष्ट्रहरुले यो मूल्यांकन रिपोर्टको अध्ययन गरिरहेका
छन् । यो समूहमा साझा गरिएको रिपोर्टले ट्रम्प र पोम्पेओले केही दिन यता गर्दै आएको दाबीलाई खारेज गरेको छ । दुवैले कोरोनाभाइरस ऊहानको बजारमा नभएर कुनै प्रयोगशालामा तयार गरिएको दाबी गरेका थिए । यो गुप्तचर रिपोर्टले ट्रम्प प्रशासनमाथि उनीहरुको दाबीलाई पुष्टि गर्ने प्रमाण प्रस्तुत गर्नुपर्ने दबाब बढेको छ । अमेरिकाले आधिकारिक मूल्यांकन सार्वजनिक गरेको छैन ।
फाइभ आइज नेसन्सका तेस्रो स्रोतले गुप्तचरको मूल्यांकन ट्रम्प र पोम्पेओले दाबी गरेभन्दा धेरै टाढा रहेको जानकारी दिए । ती स्रोतले भाइरस प्रयोगशालामा बनेको हुनसक्ने सम्भावना कायम नै रहेको भए पनि यसलाई प्रमाणित गर्ने कुनै पनि प्रमाण नभेटिएको बताए । ‘यो ऊहानको बजारबाट फैलिएको स्पष्ट छ तर बजारसम्म कसरी भाइरस आइपुग्यो भन्ने स्पष्ट हुन सकेको छैन ।
उनले अमेरिकाले आफूहरुसँग सबै गुप्तचर रिपोर्ट साझा नगरेको हुनसक्ने सम्भावना पनि रहेको बताए । फाइभ आइजका सदस्यहरुले गुप्तचरको धेरै सूचना साझा गरे पनि केहीलाई भने लुकाउने गरेका छन् ।
सोमबार संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि आफूलाई भाइरस ल्याबमा बनेको कुरा विश्वास नरहेको बताएका थिए । उनले यो भाइरस प्रकृतिमा नै निर्माण भएको र मानिसमा सरेको हुनसक्ने बताएका थिए ।
स्रोतः सीएनएन