निरधक्क भएर भोट खसाल्नु होस : आफुले रोजेको उम्मेदवारलाई भोट हालेको थाहा हुँदैन

३ मंसिर, काठमाडौं । निर्वाचनको बेलामा कतिपय उम्मेदवारहरूले यो ठाँउबाट यति भोट खस्नुपर्ने भनेर आफ्ना कार्यकर्ताहरुलाई जिम्मा लगाउने गर्छन् ।

कतिपय अवस्थामा ‘तिमीले कता भोट हाल्छौं, मोटामोटी हामीलाई थाह हुने’ भन्दै मतदाताहरुलाई त्रासमा पारेको पनि सुनिन्छ ।
यसअघिका केही उम्मेदवारहरुले यो भेटबाट मलाई यति मत खसेन भने विकास निर्माणका

आयोजनाहरुमा बजेट छुट्याउन पहल गर्दिन भनेर समेत धम्क्याउने गरेका थिए । तर केही निर्वाचनयता निर्वाचन आयोगले अपनाएको तरिकाका कारण कुन ठाँउबाट कति मत खस्यो भन्ने थाह हुँदैन ।

निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार, मतपेटिकाबाट मिसाएर मतगणना गर्दा गोपनीयता र विश्वसनीयता थप बढ्छ ।

मतगणना निर्देशिका अनुसार, निर्वाचनमा खटिने कर्मचारीहरुले दुई फरक मतदान स्थलका मतहरु एक ठाँउमा मिसाउछन् र गन्न थाल्छन् ।

फरक ठाँउका मत मिसाएर गन्ने भएकाले कुनै मतदानकेन्द्र वा स्थलबाट कुन उम्मेदवारलाई कति मत खस्यो भन्ने थाह हुँदैन ।

निर्वाचन आयोगले दुई वा त्यो भन्दा बढी मतदानस्थलका मतपेटिकाहरु मिलाएर मात्रै मत गन्नु भनी सबै निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हुन्छ ।

दुई ठाँउको मत मिसाएर गणना गरेपछि उम्मेदवारहरुले समेत कुन ठाँउबाट आफूलाई कति मत खस्यो भन्ने अनुमान गर्न सक्दैनन् ।

संविधानसभा निर्वाचनमा सुरक्षाकर्मीहरुलाई लक्षित गरी राखिएको समानुपातिक मतदान केन्द्रको मतको गोपनीयतामा प्रश्न उठेपछि यस्तो अभ्यासको सुरुआत भएको हो ।

उनीहरुले व्यक्त गर्ने मत समेत अन्यत्रको मतसँग मिसाएर गणना गरिन्छ ।