विश्वकप फुटबलका ९ झट्का

विश्वकप फुटबल २०२२ को संस्करण खेलकुद जगतमा यस वर्षकै बुहप्रतिक्षित प्रतिस्पर्धा हो।

विश्वकपको उपाधि कसले चुम्ला, मैदानमा सबैभन्दा उत्कृष्ट प्रदर्शन कसले गर्ला भन्ने विषयमा समर्थकहरूमा निकै चासो छ।

उत्कृष्ट प्रदर्शन र उपाधिको आशा गरिरहेका समर्थकहरूका लागि कतिपय अवस्थामा झट्का पनि लाग्छ। कुनै संस्करणमा डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिँदा कम आकलन गरिएको टोलीले घाघडानलाई स्तब्ध बनाउँदा समर्थकहरूलाई झट्का लाग्ने गरेको छ। विश्वकपका विभिन्न संस्करणका झट्का यहाँ प्रस्तुत गरिएको छ:

सन् १९५० मा अमेरिकाले इंगल्याण्डलाई १-0 ले हराउँदा-

युद्धकाल पछि इंग्लयाण्डले डेब्युमै विश्वकपको उपाधि जित्ने मनस्थितिसहित टोली बनाएको थियो। इंग्ल्याण्डसँग अल्फ र्‍याम्से, टम फिनी र बिल राइटजस्ता खेलाडी थिए।

यता अमेरिकाले विभिन्न पेशामा संलग्नलाई समाहित गर्दै टोली निर्माण गरेको थियो। अमेरिकाको टोलीमा कोही भान्से, कोही हुलाकी र कोही शिक्षक थिए। एक दिने अभ्यासका भरमा विश्वकप खेल्न अमेरिकी टोली ब्राजिल हिँडेको थियो।

इंग्ल्याण्डलाई पराजित गरेपछि उत्सव मनाउँदै अमेरिकी टोली

तीनै खेलाडीले घाघडान मानिएको इंग्लयाण्डलाई स्तब्ध बनाए। खेलको ३८ औँ मिनेटमा अमेरिकाका लागि जो गेट्जेनले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए। खेललाई बराबरीमा ल्याउन इंग्ल्याण्ड प्रयासरत थियो। दोस्रो हाफमा इंग्ल्याण्डको सशक्त प्रहारलाई अमेरिकी किपर फ्र्यान्क बोर्गीले रोकेपछि अमेरिकाले खेल जितेको थियो। स्पेनसँग पनि हार व्यहोरेपछि अमेरिका समूह चरणबाटै बाहिरिएको थियो।

सन् १९५४ मा पश्चिम जर्मनीले हंगेरीलाई ३-२ ले हराउँदा-

सन् १९५४ मा हंगेरीसँग सुपरस्टार फेरेन पुस्कास सहितका खेलाडी थिए। स्टार खेलाडीहरू साथमा रहेकाले हंगेरीले विश्वकपको उपाधि चुम्ने धेरैको आकलन थियो। तर यो आकलनलाई पश्चिम जर्मनीले सत्यतामा परिणत हुन दिएन। पहिलो हाफको आठौँ मिनेटभित्र २ गोल गर्दै हंगेरीले खेल आफ्नो पकडमा राखेको थियो। हंगेरीका लाग पुस्कास र जोल्टेन सिबोरले गोल गरेका थिए।

फाइनल खेलअघि एकअर्कासँग हात मिलाउँदै जर्मनी र हंगेरीका कप्तानहरू।

पहिलो हाफको १० औँ मिनेटमा पश्चिम जर्मनीका म्याक्स मोर्लकले गोल गरे। १८ औँ मिनेटमा हेम्युट रहानले गोल गरेपछि खेल बराबरी भयो। दोस्रो हाफमा आक्रामक बनेको हंगेरीले गोल गर्न सकेन। खेलको ८४ औँ मिनेटमा पश्चिम जर्मनीका हेम्युटले फेरि गोल गर्दै ३-२ को अग्रता दिलाए। उनकै दोस्रो गोलको सहारामा पश्चिम जर्मनीले उपाधि चुमेको थियो।

सन् १९६६ मा उत्तर कोरियाले इटालीलाई १-० ले हराउँदा-

उत्तर कोरियाको टोलीले विश्वकप खेल्न इंगल्याण्डमा ल्याण्ड गर्दै चकित तुल्याएको थयो। पश्चिमा शक्तिहरूसँग राम्रो सम्बन्ध रहेको दक्षिण कोरियासँगको शितयुद्धका कारण उत्तर कोरियाको टोलीलाई भिसा नदिने चर्चा भइरहेको समयमा टोली इंग्लयाण्डमा अवतरण गरेको थियो। इटालीलाई १-० ले हराउँदै उत्तर कोरिया क्वाटर फाइनलमा पुग्यो।

उत्तर कोरियाका निम्ति पाक-दोले गरेको गोल

खेलको पहिलो हाफ समाप्तिमा पाँच मिनेट बाँकी हुँदा पाक-दोले गोल गरेका थिए। उनकै गोलको सहारमा उत्तर कोरियाले दुई पटकको विश्व विजेता क्वाटरफाइनल प्रवेशमा रोकेको थियो। इटालीसँगको त्यो जीत उसका लागि अविष्मरणीय छ।

सन् १९८२ मा अल्जेरियासँग पश्चिम जर्मनीको हार-

सन् १९८२ को विश्वकप संस्करणमा पश्चिम जर्मनी र अल्जेरियाको खेल तय भएको थियो। घाघडान पश्चिम जर्मनीले अल्जेरियालाई कम आक्दा खेल हार्न पुग्यो। पश्चिम जर्मनीसँग स्टार खेलाडीका लहर हुँदा अल्जेरियाका टोली सदस्य गुमनाम थिए।

गोल गरेपछि खुशी मनाउँदै अल्जेरियाका लक्तर बेओमी

ह्यान्स मुलर, लोथर म्याथुससहित मैदानमा उत्रिएको पश्चिम जर्मनीलाई अल्जेरियाले समूह चरणको पहिलो खेलमा २-१ ले स्तब्ध बनायो। समूह २ मा पश्चिम जर्मनी, अल्जेरिया चिली र अष्ट्रिया थिए। यो समूहबाट पश्चिम जर्मनीले फाइनलसम्मको यात्रा तय गरेको थियो।

सन् १९९० मा क्यामरूनसँग अर्जेन्टिना १-0 ले पराजित-

डियगो म्यारोडोनाले नेतृत्व गरेको अर्जेन्टिनाका लागि सन् १९८२ को उद्घाटन खेल सहज जित्ने अनुमान थियो। क्यामरुनले विश्वकपको डेब्युको खेलमै उसले अर्जेन्टिनालाई पराजित गर्‍यो।

अर्जेन्टिनालाई हराएपछि खुशी साट्दै क्यामरूनका खेलाडी

दोस्रो हाफको अन्तिम चरणमा क्यामरूनका फ्रान्कोसिसले गोल गरेका थिए। उनकै गोलको सहारामा क्यामरूनले अर्जेन्टिनालाई हराएको थियो।

सन् २००२ मा सेनेगलसँग फ्रान्सको खेल-

सन् २००२ को उद्घाटन खेल फ्रान्स र सेनेगलबीच थियो। फ्रान्सको आक्रमतका सेनेगललाई भारी पर्ने विश्लेषण भइरेहका थिए। खेलको ३० औँ मिनेटमा पपा डोपले सेनेगलका लागि गोल गरे।

फ्रान्सका डेभिड ट्रेम्युजको प्रहार निष्प्रभावी बनाउने प्रयास गर्दै सेनेगलका गोल रक्षक टोनी सिल्भा। 

सेनेगलले फ्रान्सलाई गोल फर्काउने मौका नदिँदा खेल १-0 ले आफ्नो पक्षमा पार्‍यो। यो संस्करणमा फ्रान्स क्वाटर फाइनल चरणमा पुग्न सकेन। अफ्रिकन मुलुकबाट क्वाटर फाइनल प्रवेश गर्ने पहिलो मुलुक सेनेगल बन्यो।

सन् २०१४ मा जर्मनी र ब्राजिलबीचको खेल-

सन् २०१४ मा विश्वकपको उपाधि छैठौँ पटक उचाल्दै रेकर्ड कायम राख्ने मौका ब्राजिललाई थियो। तर त्यस संस्करणमा ब्राजिल सेमिफाइनलबाटै घर फर्किनुपर्‍यो। चोटका कारण फर्वाड नेयमारले खेल खेल्न सकेनन् भने थिएगो सिल्भा पनि कार्डका कारण बेञ्चमै थिए।

सेमिफाइनलबाट बाहिरिएपछि स्तब्ध मुद्रामा ब्राजिलका खेलाडी

ब्राजिलले दुइटा स्टार खेलाडी गुमाएको मौका जर्मनीले छोप्यो। सेमिफाइनल खेलमा जर्मनीले गोलको वर्षा गर्‍यो। ११ मिनेटमा खाता खोलेको जर्मनीले २३ देखि २९ औँ मिनेट बीचमा चार गोल थप्यो। यो खेलमा जर्मनीले ७ गोल गरेको थियो भने ब्राजिलले १ गोल मात्रै फर्काएको थियो। सन् १९२० यता ब्राजिल नराम्रोसँग पराजित भएको त्यही म्याच थियो।

सन् २०१४ मै भएको नेदरल्याण्ड र स्पेनबीचको खेल-

सन् २०१४ को विश्वकप संस्करणको उद्घाटन खेल सन् २०१० मा उपाधिका लागि भिडेका नेदरल्याण्ड र स्पेनबीच भएको थियो। डिफेन्डिङ च्याम्पियन स्पेनलाई नेदरल्याण्ड ५-१ को अन्तरले हराएको थियो। खेलको २७ औँ मिनेटमा स्पेनका लागि जाबी अल्सानोले गोल गरेका थिए।

बललाई नियन्त्रणमा लिने प्रयास गर्दै नेदरल्याण्डका रोबिन भान पर्सी

तर पहिलो हाफ समाप्तिको १ मिनेटमा  नेदरल्याण्डबाट आइकनिक गोल भयो।

१५ यार्डबाट प्रहार भएको बललाई हेडरमार्फत रोबिन भान पर्सीले जाली चुमाउन सफल भए। यसका निम्ति उनलाई फिफाले पुरस्कारसमेत दिएको थियो। दोस्रो हाफपछि नेदरल्याण्डले चार गोल थप्यो। विश्वकप संस्करणका खेलमा डिफेन्डिङ च्याम्पियन मुलुक ठूलो अन्तरले पराजित भएको यो नै पहिलो रेकर्ड हो। सन् २०१४ मा स्पेन समूह चरणबाटै बाहिरिँदा नेदरल्याण्ड तेस्रो भएको थियो।

सन् २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिँदा-

कतिपय विश्वकप संस्करणका खेलहरूमा डिफेन्डिङ च्याम्पियन पहिलो चरणमै स्तब्ध हुन्छन्। सन् २०१८ को विश्वकप पनि यस्तै बन्न पुग्यो। विश्वकपको यो संस्करणमा जर्मनी दक्षिण कोरियाविरुद्ध मैदानमा थियो। त्यस खेलमा जर्मनी २-0 ले स्तब्ध बन्न पुग्यो।

जर्मनीलाई पराजित गरेपछि उत्सव मनाउँदै दक्षिण कोरियाका खेलाडी 

त्यस खेलमा दक्षिण कोरियाका लागि किम यङ उनले कर्नरबाट उत्कृष्ट गोल गरेका थिए। जर्मनी एशियाली मुलुकसँग पराजित भएको यो पहिलो खेल थियो भने सन् १९३८ यता समूह चरणबाटै जर्मनी बाहिर पुगेको पहिलो संस्करण यही नै थियो।

सेतोपाटीबाट