दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता

२२ वैशाख, जुम्ला । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच आज सोमबार दिउँसो भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा वैशाख २५ देखि हुने स्थायी समिति बैठकबारे छलफल भएको स्रोतले बतायो ।
स्रोतअनुसार प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकका लागि प्रतिवेदन लेख्ने जिम्मेवारी प्रचण्डलाई दिएका छन् । गत शनिबार बसेको सचिवालय बैठकले बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । नेकपाले २४ गते सचिवालय बैठक बोलाएको छ ।
शनिबारको सचिवालय बैठक अगाडि दुई अध्यक्षले छुट्टै कुराकानी गरेका थिए । पार्टी नेता माधवकुमार नेपाल पक्षसँग मिलेर प्रधानमन्त्रीको राजीनामा माग्दै आएका प्रचण्ड त्यही कुराकानी पछि पछि हटेको थिए । उक्त भेटमा ओलीले सरकार चलाउने र प्रचण्डलाई पार्टी चलाउन दिने सहमति जुटेको स्रोत बताउँछ । त्यसलगत्तै बसेको सचिवालय बैठकमा दुई अध्यक्षको कुर्सी समान हैसियतमा राखिएको थियो ।
यसअघि मंसिर ४ को सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली पूरै कार्यकाल रहने र कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको काम गर्ने सहमति भएको थियो। सहमतिअनुसारको जिम्मेवारी नपाएपछि प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए ।