नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा पार्टीभित्र ‘एक व्यक्ति एक पद’ को पक्षमा निरन्तर आवाज उठाउँदै अएका नेता हुन् । उनी अहिले पनि केपी शर्मा ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पद छाड्नैपर्ने अडानमा छन् । पार्टीभित्र माधवकुमार नेपालको निकट मानिने खतिवडाले शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गरेको आत्मालोचना पनि अपूर्ण र अपारदर्शी भएको बताए । उनले सो आत्मालोचनालाई ‘बतासे अण्डा’ को संज्ञा दिएका छन् ।
उदयपुरे कम्युनिस्ट नेता खतिवडासँग सोमबार अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत अंश हामी यहाँ उर्तान चाहन्छौं ।
यसअघि तपाईले अनलाइनखबरमा अन्तर्वार्ता दिँदा केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पद छाड्नुपर्छ भन्नुभएको थियो । त्यो, याद छ ?
निश्चय नै । त्यसबेला नेकपामा दुई अध्यक्ष प्रणाली स्थापना भइसकेको थियो । केन्द्रीय समिति बनिसकेको थियो । यसमा म सुरुवातदेखि नै म असहमत थिएँ । एउटा कमिटीमा दुईटा अध्यक्ष हुनु हानिकारक हुन्छ भन्ने मेरो बुझाइ थियो । यो परिपाटी चित्त नबुझे पनि मैले बहस गर्ने ठाउँ कहीँ थिएन । किनकि, तत्कालीन एमाले र माओवादीबीचको एकीकरण मेरोसहित राय, सल्लाह, सहमतिमा भएको थिएन । यसबारे मैले सबैभन्दा पहिले अनलाइनखबरमार्फत आफ्नो धारणा राखेको थिएँ ।
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पद लिएर अर्को छाड्नुपर्छ, यसरी पार्टी र संगठन चलाउन सकिँदैन । नेकपा एक व्यक्ति, एक पदमा जानुपर्छ भनेर सार्वजनिकरूपमा पहिलो प्रस्ताव मैले नै गरेँ जस्तो लाग्छ ।
तपाईको यो प्रस्तावको सुनुवाई भयो त ?
उतिबेला मेरो प्रस्तावलाई खासै चासो नदिए पनि अहिले यसले पार्टी्भित्र संस्थागतरूपमै प्रवेश भएको छ । पार्टी सचिवालयदेखि स्थायी समितिसम्म निरन्तर यो आवाज उठिरहेको छ । हिजो–अस्ति सचिवालय बैठक बस्नुअघि पनि यो विषयले जोड पक्डिएको थियो । प्रधानमन्त्री एक पद छाड्न चाहनुहुन्न भने दुवै पदबाट राजीनामा दिनुस् भन्नेसम्मको माग उठेका थिए । मैले उठाएको एक व्यक्ति, एक पदको विषय आउँदा दिनमा जायज नै ठहरिने छ भन्ने मेरो विश्वास छ ।
तपाई नेकपाभित्र माधव नेपालनिकट नेताका रुपमा परिचित हुनुहुन्छ । ‘एक व्यक्ति एक पद’ को माग अब माधव नेपाल समूहकै माग बनिसकेको हो ?
एक व्यक्ति, एक पदको विषय माधवकुमार नेपाल समूहसँग मात्र जोड्न जरुरी छैन । यो त पार्टीको मूलधारको तर्कका रूपमा स्थापित हुँदैछ । एक व्यक्ति, एक पदको व्यवस्थापनमा जाँदा सबै तहका नेता–कार्यकर्ताको जिम्मेवारी बाँडफाँट गर्न सकिन्छ । पार्टी्भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापनमा पनि यसले भूमिका खेल्न भन्ने सबैलाई लागिसकेको छ ।
यो मागमा ममात्रै होइन, सिंगो नेपाल बहस गरिरहेको छ । नेकपा बहस गरिरहेको छ । कसै कसैले होइन भन्लान् । शक्तिशालीहरूले यसको कुनै अर्थ छैन भन्ने टिप्पणी गर्लान् । तर आमकार्यकर्ताको मनमा एक व्यक्ति, एक पद बसेको छ ।
तर, शनिबारको सचिवालय बैठकमा त यसबारे कसैले बोलेको सुनिएन नि ?
यो माग पार्टी सचिवालयले ड्रप गरेको छैन । उसले त्यसो गर्न पनि सक्दैन । यसको कारण छ, त्यो के भने यो संगठन सञ्चालनको वैचारिकतासँग जोडिएको विषय हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कमी कमजोरीप्रति आत्मालोचना गरिसकेको अवस्थामा नेकपाभित्र अझै बखेडा किन ?
अस्ति अत्यन्तै तनावग्रस्त भएको राजनीतिक वातावरणलाई सामान्यीकरण र शिथिलीकरण गर्न नयाँ आत्मालोचनाको कुरा ल्याउनुभयो । एकले अर्कोसँग आत्मालोचना गरेको देखाएर वातावरणलाई शान्त पार्ने प्रयास गर्नुभयो । उम्लिरहेको वातावरण शान्त पार्नेबाहेकको महत्त्व छैन, आत्मालोचनाको । आत्मालोचनारूपी अण्डाबाट चल्ला निस्किन्छ, निस्किँदैन भन्ने विषय स्थायी कमिटी बैठकबाट थाहा हुन्छ । निश्चय नै स्थायी कमिटी बैठकमा यो आउनुपर्छ । आउने नै छ ।
ओलीप्रति तपाईको यति धेरै रिस किन ? उहाँले किन एउटा पद छाड्नैपर्ने ?
मैले केपी ओलीप्रति रीस गरेको होइन । यसको ऐतिहासिक पृष्ठभूमिलाई सम्झौं । एक, यो हाम्रो संगठन सञ्चालनको विधि र प्रक्रियाभित्रको कुरा होइन । दोस्रो कुरा, केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुपर्छ भनेर गौरवान्वित र सहयोग गरेका हौं । उहाँलाई आज पार्टी र सरकारमा जे जति शक्ति प्राप्त छ, यो पार्टीको सर्वसम्मत निर्णयको उपज हो ।
म केपी ओलीसँग रिसाउनु पर्ने कुनै कारण छैन । उहाँले गरेका गतिविधिले द्वन्द्व व्यवस्थापन भन्दा वृद्धि गर्न थाल्यो । कुनै कारणले उहाँको विपक्षमा रहेकाहरू माथि अपमानजक व्यवहार गरिएकोप्रति मेरो असहमति हो ।
केपी ओलीको बुद्धि र क्षमताले मुलुक शान्ति, समृद्धि र प्रगतिको दिशामा जानसक्ने देखेका थियौं । उहाँको नेतृत्वमा पार्टी लोकप्रिय बन्नेछ, सुशासन व्यवस्थित हुनेछ, भ्रष्टाचार न्यूनीकरण हुनेछ, यहाँभित्र कुनै माखागिरीले चलखेल गर्नेछैन र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ हुनेछ भन्ने ठानेका थियौं । हामीले शान्ति र समृद्धिका लागि जति कामना र्गयौं, ती कामनाहरू दिनदिनै कमजोर बन्दै गए । उहाँ आफ्नै कारणले अलोकप्रिय बन्दै जानुभयो । नेकपाको श्रीवृद्धि हुनुपर्नेमा, श्रीमा क्षय भयो । यसकारण हामीले प्रधानमन्त्रीलाई ‘तपाईंले अब गर्न सक्नुहुन्न’ भन्न थालेका हौं ।
जतिजति उहाँलाई सुझाव दिन थाल्यौं, त्यति– त्यति निरंकुश बन्दै जान थाल्नुभयो । सर्वसत्तावादीको व्यवहार देखाउन थाल्नुभयो । आम जनताको अपेक्षाविपरीत केपी ओलीले चलाएको सरकारले कम्युनिस्टको श्रीवृद्धि गर्दैन, सरकारको लोकप्रियता खस्कन्छ भन्ने परेको छ । २÷४ वटा राम्रो काम गरे पनि पनि नराम्रो कामले छपक्कै छोपेको छ । चाणक्य नीतिमा शासनका लागि साम, दाम, दण्ड र भेद चाहिने उल्लेख छ । यसको अर्थ यो प्रयोग नै गर भनेर उनले भनेका होइनन् । सबैभन्दा पहिले सामबाट सुरु गर भन्ने उनको आशय हो । नीति, सिद्धान्तले बाँधेर उसलाई शासन गर भनिएको हो ।
त्यो नभएपछि दाम, दण्ड र भेदको कुरा आउला । तर , प्रधानमन्त्री अधिकांशतः भेदतिर जान थाल्नुभयो । दण्ड र दामतिर जान थाल्नुभयो । नेकपालाई व्यवस्थित बनाउने हो भने सामतिर जानुपर्छ । सिद्धान्त, निष्ठता, आदर्शतिर जानुपर्छ । यो कुरामा प्रधानमन्त्री चुक्न आँट्नु भएकाले अन्तरविरोध बढेको हो ।
पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसक्दा पार्टीको पक्षमा कार्यकर्ताले बोल्ने वातावरण नबनेको भन्दै दुईमध्ये एक पद छाड्ने कुरा आएको हो । पार्टीको छवि जोगाउन यस्तो प्रस्ताव आएको हो । यसले प्रधानमन्त्री आफैंलाई राम्रोसँग काम गर्न सहयोग गर्नेछ । अरूलाई पनि काम दिने छ ।
यसबाट चेक एण्ड ब्यालेन्स हुन्छ । एउटाले गल्ती र्गयो भने अर्कोले सच्चाउन मिल्छ । नेकपामा प्रधानमन्त्रीले पार्टी चलाउने कि पार्टीले सरकार चलाउने भन्ने चेक एण्ड ब्यालेन्स भएन । यो बेथितिले प्रत्येकको मनमा पोलेको छ । त्यसेले अब जिल्ला, गाउँ, नगर कमिटी होस् या प्रधानमन्त्री केपी ओली, यो सबैतिर जानुपर्छ । एक व्यक्तिले एउटा मात्रै पद लिनुपर्छ ।
आफ्नै पार्टीको सरकारले गरेका राम्रा कामको प्रचार नगरी आलोचना गर्ने्तिर तपाईहरु लाग्नुभएको हो कि हैन ?
राम्रा कामको प्रचार गर्नका लागि कार्यकर्ताले नेताले गरेको निर्णय मेरो निर्णय हो भन्नु र्पयो नि । आफूले गरेको निर्णय हामी सारा कार्यकर्ताले ठीक छ भनिदिऊन् भन्ने प्रधानमन्त्री चाहनुहुन्छ । व्यक्तिले निर्णय गर्ने, समूहले उत्तरदायित्व लिनुपर्ने अवस्था छ । हामीले सञ्चालन गर्न खोजेको पार्टी प्रणाली सामूहिक रूपमा निर्णय गर्ने र व्यक्तिले उत्तरदायित्व लिनुपर्ने प्रणाली हो । यो प्रणाली उल्ट्याएर प्रधानमन्त्रीले चलाएको भएर अन्तरद्वन्द्व भएको हो ।
सामूहिक रूपमा पार्टीमा निर्णय गरेर कार्यान्वयन गरिएको विषयबारे हामीले बोलेनौं भने प्रश्न गर्न मिल्छ । एक्लै आफ्नो मनखुसीले गरेका निर्णयमा पार्टीले जिम्मेवारी लिइदेओस् भन्ने उहाँले चाहनुहुन्छ भने त्यो सफल हुँदैन ।
कार्यकर्तालाई आफूले इज्जत गरे, उसले पनि अरुलाई इज्जत गर्छ । कार्यकर्तालाई अपमानित गर्ने, भेद गर्ने, किनाराकृत गर्ने अनि त्यही कार्यकर्ताबाट जयजयकारको चाहना ? त्यो त हुन सक्दैन ।
तपाईको विचारमा केपी ओलीले कुन पद छाड्नु बेस होला ? प्रधानमन्त्री कि अध्यक्ष ?
प्रधानमन्त्री र अध्यक्षमध्ये कुन छाड्ने भन्ने कुरा प्रधानमन्त्रीको खुसीको कुरा हो । पार्टी र सरकार दुवैमा अव्यवस्था देखिएकाले उहाँले एउटा लिएर अर्को छाड्नु सबैभन्दा उत्तम हुन्छ । सर्वसत्तावादी ढंगले अगाडि बढ्ने हो भने राजीनामा दिनुको विकल्प छैन ।
सुव्यवस्थित ढंगले काम गर्ने हो भने उहाँ प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा रहन सक्नुहुन्छ । पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापनसँगै सुशासन, राष्ट्रिय अन्तर्रा्ष्ट्रिय छवि सुधारेर आमराजनीतिक दललाई साथ लिएर हिँडनुहुन्छ भने उहाँले दुवै पद लिन सक्नुहुन्छ ।
अध्यादेश प्रकरणपछि सरकार ढल्ने स्थितिमा पुगेर जोगिएको हो ? नत्र बालुवाटारमा हस्ताक्षर संकलन किन भयो ?
नेकपाको सरकार ढल्दैन । प्रधानमन्त्री परिवर्तन हुने कुरा सरकार ढल्नेसँग जोड्नुहुँदैन, यो नेकपाले गर्ने कुरा हो । उहाँलाई हटाएर पार्टीले अर्कोलाई ल्याउन पनि सक्छ । मुख्य कुरा के हो भने हामी सरकार बचाउन चाहन्छौं । समाजवादलाई नेपाली धर्तीमा कसरी रूपान्तरण गर्ने सरकार जोगाउन चाहन्छौं । जे पायो, त्यही गर्ने सरकार जोगाउने हाम्रो मक्सद छैन ।
अध्यादेश प्रकरणले पार्टी विभाजन हुँदैनथ्यो । गर्ने्तिर कोही लाग्दा पनि लाग्दैनथ्यो । अर्कालाई सुरुमै अनेकौं ढंगले त्रास देखाएर निरुत्साहित गर्ने, हस्ताक्षर संकलन लगायतका यावत् विषय त्रास देखाएर लाभ लिने पोलिसीअन्तर्गत त्यो सब भएको हो । मलाई लाग्छ, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको साथमा संसदीय दलमा बहुमत भएको भए किमार्थ आत्मालोचनाको प्रश्न आउने थिएन ।
तर, प्रधानमन्त्रीले आत्मालोचना गरिसक्नु भयो त ?
अहिलेको आत्मालोचना बतासे अण्डा हो । कम्युनिस्ट पार्टीमा आफूले गरेका गल्तीमा आत्मालोचना गरिन्छ । उहाँले कुन गल्तीमा आत्मालोचना गरेको हो, वर्गीकरण गरेर परिभाषित गर्नुपर्छ । आत्मालोचना मात्रै गरेर पुग्दैन, उहाँले यस्ता कमजोरी आउने दिनमा नगर्ने र सच्याउँछु भन्ने दृष्टिकोण पनि दिनुपर्छ । उहाँले सक्कली आत्मालोचना गरेको हो भने उहाँले त्यो गर्नैपर्छ । एकछिनका लागि परिस्थिति साम्य गर्न लचकता देखाइदिउँ न त भनेर भेदको राजनीति अन्तर्गत गरिएको हो भने यो अर्को विस्फोटतिर जान्छ ।
आत्मालोचनाले नेकपाभित्रको आगो निभ्दैन ?
यो त एकछिनका लागि शान्त पारेको जस्तै हो । भित्र रहेको आगोलाई खरानीले छोपेर भित्रको अस्तित्व समाप्त हुँदैन । पार्टीभित्रको विवाद र द्वन्द्व एकछिनको आत्मालोचनाले हुँदैन, सच्याएको अनुभूति हुनुपर्छ ।
वैशाख २५ गते स्थायी कमिटीको बैठक बस्दैछ । त्यो बैठकले के गरोस् भन्ने चाहनुहुन्छ ?
माघमा बसेको पार्टी केन्द्रीय समिति बैठकले धेरै कुरा निर्देश गरेको छ, समाजवादको रूपरेखाबारे निश्चित गर्न भनेको छ । १५ दिनभित्र एकीकरणको काम सक्न भनेको थियो । नेताको सम्पत्ति छानबिन, एमसीसी, यतीलगायतका यावत् कुरा उठेको थियो ।
स्थायी कमिटीमा पहिलो त केन्द्रीय कमिटीले गरेका निर्णय किन कार्यान्वयन गरिएनन् भनेर उठाउन जरुरी छ । एक व्यक्ति, एक पदको अभावले पार्टी र सरकारभित्र बढेको स्वेच्छाचारिता अन्त्य गर्नेबारे पनि छलफल हुनुपर्छ भन्ने कुरारमा पनि स्थायी समितिले छलफल गर्नुपर्छ ।
स्थायी कमिटीमा पनि चित्त बुझेन भने केन्द्रीय कमिटीको बैठक माग्ने होला ?
१५ दिनमा गर्ने भनेको काम अहिलेसम्म नभएकाले केन्द्रीय समिति अहिले नै माग्नुपर्ने भएको छ । स्थायी कमिटीले लिने निर्णयले केन्द्रीय समिति बैठकको विषय निर्धारण गर्छ । समाधान दियो भने विधान अनुसार ६ महिना कटेपछि बस्दा पनि हुन्छ ।
संसदीय दलमा चाहिँ प्रधानमन्त्रीको पक्षमा बहुमत पुगेको हो ?
र्पुयाएको भए त देखाएको भए हुन्थ्यो नि । प्रचण्ड, माधव नेपाललाई संसदीय दलमा बहुमत छ भनेर ओलीले भनिहाल्नुहुन्थ्यो नि । केपी ओली यस्तो प्रश्न नसोध्ने मानिस हो र ? धेरै सोचेरै आत्मालोचना गर्नुभएको हो । यो आत्मालोचनाले पुग्दैन । यो अपूर्ण मात्र होइन, अपारदर्शी पनि छ । गल्ती जहाँ भएको हो, त्यो सच्याउनुपर्छ । कार्यकर्तालाई समानताका आधारमा व्यवहार गरेको, सरकार पार्टीको निर्देशनका आधारमा चलेको देखियो भने मात्र केपी ओलीले आत्मालोचना गर्नुभएछ भनेर पत्याउँला ।
नेकपा सचिवालयले कार्यकर्ताहरुलाई भनेको छ, पार्टी एकतालाई असर पार्ने अभिव्यक्ति नदिइयोस् । यसरी प्रधानमन्त्रीको आलोचना गर्दा कारवाहीमा परिने डर लाग्दैन ?
एकता भाव बढाउन नै मैले यस्तो धारणा राखेको हुँ । एकता भाव बढाउने हो भने विधि, नीति, आचरणअनुसार कुरा
गर्नुपर्छ ।
अनलाइन खबरबाट