कतारलाई विश्वकपको आयोजक राष्ट्र बनाउने निर्णय गल्ती भएको थियो

फिफा पूर्व अध्यक्ष सेप ब्लाटर

विश्व फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकपको आयोजक राष्ट्र बनाउने निर्णय गल्ती भएको बताएका छन्।

आफ्नै अध्यक्षतामा भएको निर्णयलाई ब्लाटरले गल्ती भनेका हुन्। ब्लाटरनै अध्यक्ष छँदा सन् २०१० मा कतारलाई सन् २०२२ को विश्वकप आयोजक राष्ट्र बनाउने निर्णय भएको थियो।

मानव अधिकारका विषय उल्लंघन गरिरहेको भन्दै कतारको व्यापक आलोचनासँगै फुटबल समर्थकले त्यहाँ पुगेर विरोध जनाउने तयारी गरेसँगै ब्लाटरको यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ।

एक स्वीस पत्रिकालाई ब्लाटरले दिएको अन्तर्वार्ता उद्दृत गर्दै बीबीसीले लेखको छ, ‘फुटबल विश्वकपको उत्सव आयोजनाका लागि ठूलो चित्त चाहिन्छ। कतारले सानो चित्त प्रदर्शन गर्‍यो।’

मध्यपूर्वी राष्ट्रमा पहिलो पटक फुटबलको विश्वकप हुन लागेको हो। कतारलाई विश्वकप आयोजना गर्न दिने पक्षमा मतदान हुँदा फिफाका १४ सदस्यीय कार्यकारी समिति मध्ये ८ जनाले कतारको पक्षमा मतदान गरेका थिए। त्यसबारेमा ब्लाटरले भनेका छन्, ’यो छनोटनै गलत भयो। तत्कालीन अध्यक्षको हैसियतले त्यसका लागि जिम्मेवार म हुनेछु।’

कतारमा रंगशाला निर्माणका क्रममा मजदुरप्रतिको ज्यादतीबारे समाचार सार्वजनिक भएपछि अबदेखि आयोजक राष्ट्र छनोट गर्दा फिफाले सामाजिक तथा मानवअधिकार पक्षलाई समेत मापदण्डमा राख्न सुरू गरेको बताए।

ब्लाटरले १७ वर्ष फिफाको नेतृत्व गरेका थिए। सन् २०१५ मा फ्रान्सका फुटबल प्रशासक माइकल प्लाटेनीलाई अवैध रूपमा २० लाख डलर दिएको अभियोग लागेपछि उनी राजीनामा दिन बाध्य भएका थिए।

यो प्रकरणपछि उनलाई फिफाले आचारसंहिता तथा नीति उल्लंघन गरेको भन्दै फुटबलका कुनै पनि गतिविधमा संलग्न नहुन भन्दै ६ वर्षको प्रतिबन्ध लगाएको थियो।

ब्लाटर विरूद्धको अभियोग भने प्रमाणित हुन सकेन। यसअघि सन् २०१८ को विश्वकप रूसमा आयोजना गर्ने निर्णय गर्दा र २०२२ को विश्वकपको आयोजक राष्ट्र कतारलाई बनाउने निर्णय गर्दा भ्रष्टाचार भएको आशंकामा छानबिन समेत भएको थियो।

फिफाले आन्तरिक अनुसन्धान गर्दा यो विषय पनि प्रमाणित हुन सकेन। कतारलाई विश्वकप आयोजना गर्न दिएको विषयमा मानअधिकारवादी संस्थाहरूले विरोध जनाएपछि फिफाले पत्रनै लेखेर फुटबलमा ध्यान दिन आग्रह गरेको छ।