Breaking News

संयोगले ७० वर्ष राज गरेकी रानी बिदाइका क्षण

दश वर्षको उमेरसम्म आफू शासन गर्ने रोलक्रममा समेत नरहेकी एलिजाबेथ द्वितीय त्यति छिट्टै कम उमेरमा  बेलायतको सिंहासनमा बस्नुपर्छ भन्ने कसैको कल्पनामा पनि थिएन। आफ्नो बाबु ५६ वर्षकै उमेरमा देहान्त हुन्छ भन्ने पनि लागेको थिएन।

फोक्सोको क्यान्सरसँग लड्दै अन्तिम श्वास फेरिरहँदा जवान एलिजाबेथ पति प्रिन्स फिलिपसँग केन्याको यात्रामा थिइन्। सपना जस्तो लाग्ने यो घटना पछाडि सत्ता सम्हाल्न पुगेकी रानीले बेलायतको इतिहासमा नै सबैभन्दा लामो समय ७० वर्ष शासन गरी ९६ वर्षको उमेरमा देहत्याग गरिन्। ११ दिनसम्मको राष्ट्रिय शोक पछि सेप्टेम्बर १९ को बेलुकी करिब पाँच बजेतिर विन्जर क्यासलमा आफ्ना बुबा, आमा, पति र बहिनी नजिकै चिरनिद्रामा लीन भइन्। राजपरिवारले भने अझै अर्को एक साता शोक मनाए।

यति लामो समय शासन गर्ने रानीका बारेमा विगत दुई हप्तासम्म विभिन्न माध्यमबाट विविध जानकारीहरू प्रसारण भए।

बेलायतको इतिहासमा सन् १९३६ ले विशेष महत्व राखेको देखिन्छ। एक वर्षमा तीन जना राजा भएको वर्ष थियो त्यो। २५ वर्ष ३६० दिन शासन गरेर २० जनवरी १९३६ मा राजा जर्ज पाँचौंको मृत्यु भयो।  उनीपछि जेठा छोरा एडवार्ड आठौंले शासनको बागडोर सम्हालेका थिए।

युवा उमेरदेखि नै उनले धेरै देशी–विदेशी महिलाहरूसँग सम्बन्ध गाँसेका थिए तर विवाह हुनेसम्मको अवस्थामा भने पुगेका थिएनन्। पछिल्लोपटक सम्पर्कमा रहेका पहिलो पतिबाट छुटेर दोस्रो पतिसँग पनि पारपाचुके हुने अवस्था रहेको एक अमेरिकी महिला विलिस सिम्प्सनसँग भने एडवार्डको प्रेम उत्सर्गमा नै पुगेको थियो।

यसबारेमा दरबारका सबैजना चिन्तित थिए। यही कारणले राजा जर्ज पाँचौंले छोराको कसैसँग विवाह नहोस् र भए पनि बालबच्चा नहोस् भन्ने कामना गर्दथे। त्यति मात्रै हैन आफ्नो मृत्युपछि शासन अर्का छोरा अल्बर्ट (जर्ज छैटौं) र त्यसपछि उनका छोरी  एलिजाबेथ (लिलिबेट) मा हस्तातरण होस् भन्ने इच्छा जाहेर गरेका थिए। तर उनको जीवनकालमा नै त्यस्तो निर्णय भएन।

बुबाको मृत्यु भएर राजा भएको भोलिपल्ट नै एड्वर्डले आफ्नो प्रेमिका सिम्प्सनलाई आधिकारिक कार्यक्रममा नै उपस्थित गराए। पछि त्यसको चारैतिर निन्दा हुन थाल्यो। यो विषयले उग्र रूप लिंदै जाँदा १६ नोभेम्बर १९३६ मा उनले तत्कालीन प्रधानमन्त्री स्ट्यानली बाल्डविनलाई दरबारमा नै बोलाएर आफूले सिम्प्सनसँगै विवाह गर्ने निर्णय सुनाए। यसबारे व्यापक छलफल भयो। पछि यो कुनै हालतमा पनि सम्भव नहुने भएपछि उनले सोही वर्षको डिसेम्बर ११ का दिन राजगद्दी नै त्याग्ने घोषणा गरे।

२१ अप्रिल १९२६ मा जन्मेर ८ सेप्टेम्बर २०२२ मा देहावसान  भएकी रानी एलिजाबेथ द्वितीय  विलियम द कन्कररले सन् १०६६ मा इङ्गल्याण्डको मुकुट प्राप्त गरेदेखि  ४०औं राज्य प्रमुख हुन्। उनको शासनकालमा बेलायतमा  चर्चिलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका थिए। उनको साम्राज्यमा संसारभरि विभिन्न देशमा १७९ जना प्रधानमन्त्री भएका थिए। रानीको दाहसंस्कारमा ६ जना पूर्वप्रधानमन्त्रीहरू सामेल भएका थिए। यस अगाडि एकसाथ  पाँच पूर्वप्रधानमन्त्रीहरू मात्र जीवित थिए।

उनका चार सन्तान तीन छोराहरू चार्ल्स, एन्ड्रयू र एडवर्डर अनि एक छोरी एनी  छन्। आठ नाति नातिनाबाट १२ सन्तान छन्। छोरा एन्ड्रु र नाति ह्यारी भने विविध कारणले राजकीय जिम्मेदारीबाट  अलग भएका छन्।

बेलायतका २३७ वटा बाटाहरू रानीको नाममा नामकरण भएका छन् भने ३५ वटा देशको नोट वा सिक्कामा रानीको प्रतिमा भएकोले गिनिज  वर्ल्ड  रेकर्डमा समेत नाम लेखिएको छ। उनले आफ्नो जीवनभरी १०६ भन्दा बढी देश गरी दश लाख माइल भन्दा बढी यात्रा गरेकी छिन्।

सबैभन्दा धेरै २२ पटक उनी क्यानाडा पुगेकी छिन् भने दुईपटक नेपाल पनि आइपुगेकी थिइन्। सन् १९५३ मा राज्याभिषेकपछि सात महिनाको विश्व भ्रमणको क्रममा  जमिन, समुद्र र हवाई गरी ४० हजार माइल यात्रा गरेकी थिइन्।

रानीलाई घुमफिर गर्ने, डाँडाकाडा चढ्दै प्रकृतिको मजा  लिनुका साथै त्यसभित्रै हराउने रुचि थियो। त्यस्तो मनमोहक दृश्य क्यामरामा कैद गर्ने रहर लाग्थ्यो।  रानीले आफ्नो शासनकालमा कम्तीमा १२९ पोर्ट्रेटहरू बनाउन लामो समय कलाकारहरूको अगाडि अडिग भएर बसेकी समेत थिइन्।  उनी आफ्नो तस्बिरलाई पनि आफूलाई जत्तिकै माया गर्थिन्।

बिहान उठेर अलग्रे चिया पिउने प्राय:जसो  मामलेट राखेको स्याण्डविच खाने  रानीको दैनिकी नै थियो। उनी टेलिभिजनमा आउने विभिन्न कार्यक्रम निरन्तर हेर्थिन्।  त्यसमध्ये पनि एउटा पुरानो श्रृंखला कति महत्वका साथ हेर्थिन् भन्ने एउटा प्रसङ्ग रमाइलो छ।  एक साँझ रानी विन्जरको घोडचढीहरूको क्लबमा पुगिन्। त्यहाँ एउटा औपचारिक कार्यक्रम पछि खानपिनको पनि व्यवस्था थियो। रानीले मुख्य काम सकेर एकैछिन पछि ‘इस्टएण्डर’ आउने बेला भयो अहिलेलाई छुटौं भनेर बिदा भइन्।

रानीको पार्थिव शरीर राखिएको वेस्ट  मिनिस्टर एबीमा १२ घण्टा भन्दा बढी लाइनमा बसेर भए पनि झन्डै चार  लाख मानिसले प्रत्यक्षरूपमा श्रद्धा व्यक्त गरेका थिए। एउटा रमाइलो संजोग त्यो भीडमा उपस्थितमध्ये एकजना ९६ वर्षीय वृद्ध राजा जर्ज पाँचौंको पार्थिव शरीर हेर्न ७० वर्ष अगाडि पनि त्यही स्थानमा पुगेका थिए।

यो अन्तिम संस्कार प्रत्यक्ष अप्रत्यक्ष रूपमा संसारका आधा भन्दा बढी मानिसले हेरेको अनुमान गरिएको छ। यति लामो र ठूलो कार्यक्रमहरूको श्रृंखलामा उल्लेख्य रूपमा कुनै समस्या झेल्न भने परेन। तर केही घटनाहरूले भने समाचारमा महत्व पाए।

राजा हुने कागजातमा हस्ताक्षर गर्दा पहिलोपटक लण्डनमा कलम र मसी राखेको बट्टा यताउता सार्न पर्दा टेबलबाटै हटाउन खोज्दा रिसाएको, बेलफास्टमा हस्ताक्षर गर्दा मिति भुलेको, कलमबाट मसी चुहिएर हातभरि लाग्दा झर्केर बोलेको विषयले भने राजाको रिसाउने बानी भएको प्रमाणित गरेको थियो।

रानीको शव अगाडि पुगेका मुहमद खान  कफिनतिर लम्किँदा पक्राउ गर्नु परेको थियो। अदालतमा उनले रानी मरेकी छैनन् भनेर आफैं कफिन खोलेर हेर्न चाहेको बताएका छन्। उनलाई अहिले मानसिक हस्पिटलमा राखिएको छ।  अक्टोबर १८ मा अर्को सुनुवाइ हुँदैछ।

एक जना ब्यारिस्टर खाली प्लेकार्ड बोकेर उभिएका थिए। उनलाई प्रहरीले प्रश्न गरे। उनले जवाफ फर्काए, ‘यदि मलाई रोक्छौ भने यो मेरो राजा हैन भनेर लेख्न सक्छु।’ त्यसपछि त्यसो गरे पक्राउमा पर्ने भनेपछि यो विषयले पनि व्यापकता लिएको थियो।

अन्तिम दिनमा रानीको कफिनमा राखिएको राजाको हस्तलिखित कार्ड माथि सानो माकुरा हिंडेको दृश्य पनि तुरुन्तै ‘शाही माकुरा’ रूपमा प्रचारित भयो। अन्धविश्वासमा विश्वास गर्नेहरूले यसलाई रानीको आत्माले माकुराको रूप लिएको पनि भने।

बेलायतको अहिलेसम्मको इतिहासमा लण्डनमा एकैपटक सबैभन्दा धेरै मानिस जम्मा भएको यो पहिलो घटना थियो। संसारभरका करिब दुई हजार नेता तथा प्रतिनिधिहरू सम्मिलित भएको यो अन्त्येष्टि कार्यक्रमको सुरक्षार्थ सेना प्रहरी गरी १० हजारभन्दा बढी परिचालित थिए। लण्डनमा पहिलो पटक आवश्यकता अनुसार कालो टाई र फूल आपूर्ति हुन सकेन।

रानी सानै उमेरदेखि जनावर विशेषगरी कुकुर पाल्न  मन पराउँथिन्। रानीले १८ वर्षको जन्मदिनमा  कोर्गी जातको सुसान नाम गरेको कुकुर प्राप्त गरेकी थिइन्। पछि त्यसैको पचास भन्दा धेरै सन्तानहरू भए। ती सबैको नाम उनी आफैंले राख्थिन्। तीमध्ये केही आफ्नो विश्वासप्राप्त आफन्त तथा साथीहरूलाई दिने गर्दथिन्।

उनको सारा जीवन यिनै कुकुरहरूको बीच बितेको थियो।  त्यस्तै घोडचढीमा पनि रानीलाई असाध्यै सोख थियो। देशभित्र हुने धेरै घोडचढीहरूको कार्यक्रममा उनी सहभागी हुन्थिन्। दिवंगत हुनुभन्दा दुई महिना अगाडिसम्म उनले घोडा चढेको खबरहरू बाहिर आएका छन्। अन्त्येष्टिको क्रममा कसलाई के कुराले धेरै छोयो भन्ने बारे लामो छलफल चलिरहे।  रानीलाई सबैभन्दा मनपर्ने र लामो समयसम्म रानीलाई सेवा दिएकी घोडी एमालाई अन्तिम भेट गर्न ल्याइएको थियो। रानीको कफिन नजिक आउँदा घोडा चलेको दृश्यले मलाई पनि असहज बनाएको थियो।

त्यस्तै दृश्य दुइटा कोर्गीहरु पनि दरबारको ढोका अगाडि कुरिरहेका थिए। यी दुई दृश्यलाई धेरैले मन छुने बताएका छन्। त्यस्तै राजाले अन्तिम बेलामा आमाको कफिनमा झण्डा राख्दा आँखामा आँशु लत्पतिएको, विल्लियमको छोरी स्यालोट भक्कानिंदै रोएको, छोरा जर्जले आँशु पुछेको, कफिनबाट  मुकुट निकालिएको, अन्तिम संस्कारपछि कफिन अदृश्य भएको पलहरूले धेरैलाई  मर्माहत पारेको बताइएको छ।

युवराज चार्ल्सले क्यामेलासँग विवाह गरेपछि भावी राजाबारे समाजमा निकै तर्क–वितर्कहरू भएका थिए। उनले  आमाको मृत्युपछि आफ्नो छोरा विल्लियमलाई राजा बन्न दिनुपर्ने विषयले महत्व पाएको पनि थियो। मसिनो स्वरमा देशमा अब राजतन्त्र कायम गर्न आवश्यक छैन भन्नेहरू पनि देखिए। तर दुई दिन अगाडिसम्म नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन सार्वजनिक रूपमा  देखिएकी रानीको एक्कासी मृत्यु भएपछि सम्पूर्ण देशवासी भावविह्वलमा परे।

११ दिनसम्म सबै विषय ओझेलमा पर्‍यो। सरकार पनि बिदामा बसे जस्तो देखियो। कुल जनसंख्याको ८६.४ प्रतिशत सत्तरी वर्षभन्दा कम उमेरको मानिस रहेको देशमा यस अगाडि राजाको अन्त्येष्टि सम्झिनेको संख्या निकै कम हुने भयो। जीवनभरि एउटै रानी देख्नेहरूले नयाँ राजा को होला भन्ने भन्दा पनि दिवंगत रानीको सम्मानको लागि चार्ल्सलाई राजाको रूपमा विना प्रश्न आत्मसात् गरेको देखिन्छ। आउँदा दिनहरूमा उनको व्यवहारमा बाँकी विषयमा छलफल हुँदै जानेछ।

अनलानइनखबरबाट

लेखक : सुरेन्द्र नेपाल श्रेष्ठ