ब्राजिलमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा

१७ असोज, काठमाडौं । ब्राजिलमा आइतवार सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा भएको छ । ९९.८७% मत गणना सकिँदा डि सिल्भाले ४८.४% मत पाउँदा बोल्सोनारोले ४३.२३% मत पाएका छन् ।

ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्राप्त मतपरिणामले शीर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणको प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

चुनाव अघि गरिएका सबै सर्वेक्षणमा पूर्वराष्ट्रपति लुलाले सहज जित दर्ता गर्ने बताइएको छ । केही सर्वेक्षणहरूमा त उनले ६५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखाइएको थियो ।

ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा दोस्रो चरणको राष्ट्रपतिय निर्वाचनबारे निर्णय ३० अक्टोबरमा हुनेछ । बोल्सोनारोले आफ्नो पक्षमा नतिजा नआएमा नतिजा स्वीकार नगर्ने बताइसकेका छन् । उनले विद्युतीय मतदानमा धाँदली भएको भन्दै मतदातालाई भ्रमित गरिरहेका छन् ।

वातावरणीय सन्तुलन, भोकमरी र खस्कँदै गइरहेको अर्थतन्त्र जस्ता चुनौतीहरूको सामना गरिरहेको ब्राजिलमा चुनावी परिणामले थप तनाव थपिने सम्भावना बढाएको छ ।

६७ वर्षीय बोल्सोनारोले आफ्नो कन्जरभेटिभ सोसल लिबरल पार्टीले कुनै पनि हालतमा चुनाव जित्ने जिकिर गरिरहेका
छन् । २०१८ मा राष्ट्रपतिमा निर्वाचित उनी दोस्रो कार्यकालका लागि पनि विजय हुन चाहन्छन् ।

बोल्सोनारोले चुनाव हारे भने आफू पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो पछ्याउने र नतिजा स्वीकार नगर्ने स्पष्ट पारेका छन् । लुला दा सिल्भा सन् २००३ देखि २०१० सम्म राष्ट्रपति थिए ।

एजेन्सीहरूको सहयोगमा