नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सबै पार्टी र सबै नेता एकै हुन् भनेर व्याख्या गर्न नहुने बताएका छन्।
सबै नेता भ्रष्टचारी पनि नरहेको उनले बताए । जनताको साथमा कांग्रेस अभियानको समापन तथा बिपीको जन्मजयन्तीका अवसरमा तनहुँमा आज आयोजित कार्यक्रममा उनले भने, ‘सबै पार्टी र नेता उही ड्याङका मुला होइनन्।’
विचार र विवेक पुर्याएर जनताले नेता चयन गर्न सक्नुपर्ने पौडेल बताउँछन्।
‘सबै मानिस एकै छैनन्। सबै पार्टी र नेता पनि एकै छैनन्। सबै भ्रष्टचारी छैनन्। सबै एकै ड्याङका मुला भन्ने पनि सत्य होइन ।
जनतालाई अधिकार दिलाउने र गाउँको विकास गर्ने नेता तथा पार्टीलाई जनताले सहयोग गर्नुपर्ने उनले बताए। समाजमा कसको योगदान के छ भनेर हेरिनुपर्ने उनको भनाइ थियो।
उनले कांग्रेसमाथि बिपीका सिद्धान्त र बाटो छाडेको आरोप लाग्ने गरे पनि आफूहरूले बिपीको बाटो नछाडेको उनले बताए।
‘बिपीका आदर्श र सिद्धान्तमा कैची लगाउनेहरूले बिपीको बाटो छाडेका हुन्। तर हामीले बिपीको बाटो छाडेनौं। संविधान बनाउनु पनि बिपीकै बाटो हिँडेको हो ।