Breaking News

सत्ता गठबन्धन सिट बाँडफाँटको निर्णायक बैठक बस्न अझै सकेको छैन : सिट बारेमा अन्तिम धारणा लिन जसपा बैठक जारी

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले प्रतिवेदन हिजो बुझाएको छ । हिजोलबिहीबार बुझाएको अधुरो प्रतिवेदनमाथि आज गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्दैछन् ।

गठबन्धनका शीर्ष नेताहरुको आज बस्ने बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने बताइएको छ।
गठबन्धनमा कुरा नमिल्नुमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्य कारक मानिएको छ । कांग्रेस र माओवादी केन्द्र आफ्नो अडानबाट पछाडि हटे पनि जसपा र नेकपा एकीकृत समाजवादी आफ्नै अडानमा रहेको कारण विवाद मिलाउन समस्या भएको कार्यदलका एक सदस्यले बताए ।

प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । लगभग शीर्ष नेता भएको सबै क्षेत्रमा सहमति भइसकेको छ । अन्य क्षेत्रहरुमा दलहरु आ–आफ्नो दाबीबाट पछाडि हटेका छैनन् । ७५ वटा सिटमा गठबन्धनभित्र दुई वा सोभन्दा बढी दलको दाबी देखिएको छ । त्यसमध्ये सबैभन्दा समस्या प्रदेश १ र मधेस प्रदेशमा देखिएको छ । गठबन्धनको बैठक बस्नुअघि जसपाको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । शीर्ष नेताहरुको सो बैठकमा गठबन्धनमा कतिसम्म लचिलो हुने या नहुने विषयमा छलफल भइरहेको छ ।

जसपाका एक सदस्यका अनुसार गठबन्धनमा हुने सिट बाँडफाँटमा जसपाको ठाउँ कहाँ रहने भन्ने विषयमा सामान्य छलफल भइरहेको छ । गठबन्धनभित्र जसपा सहमति नजिक रहेको र गठबन्धन छाड्ने अवस्था नरहेको एक सदस्यले बताए ।

‘७५–८० वटा सिटमा कुरा मिलेको छैन, यो सामान्य कुरा हो, शीर्ष तहको बैठकमा कुरा मिल्छ । सानोसानो विषयमा कुरा अड्किएको छ, आज बस्ने कार्यदलसहितको गठबन्धनको बैठकमा यी विषयमा कुरा मिल्छ ।’ आज बस्ने गठबन्धनको बैठकमा कार्यदलले दिएको प्रतिवेदनलाई टेकेर सिट बाँडफाँटको टुङ्गो लगाइनेछ । कुरा नमिलेको क्षेत्रमा पनि कार्यदलले विभिन्न आधार सुझाएको छ । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव र २०७९ को स्थानीय चुनावलाई आधार मानेर निष्कर्ष निकाल्न कार्यदलले सुझाव दिएको छ । कतिपय क्षेत्रमा पार्टीको संगठन र नेताको पकडलाई पनि आधार मानिएको छ ।