एकै जिल्लाको दुई वस्तीबाट १० जनाको मृत्यु

बैशाखा २०, काठमाडौँ । महोत्तरीको बर्दिबास र भंगाहा नगरपालिकाका दुई बस्तीमा ९ दिनमा १० जनाको मृत्यु हुनुको कारण मदिरा सेवन वा मलेरिया हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । महोत्तरीबाट संघीय संसदमा निर्वाचित शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिषादीयुक्त घरेलु रक्सी वा मलेरियाका कारण स्थानीयको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । पेट दुख्ने, झाडापखाला लाग्ने र वान्ता हुने लक्षणका कारण स्थानीयको मृत्यु हुन थालेपछि शुक्रबार मन्त्री पोखरेल घटनास्थल पुगेका थिए ।
‘स्वास्थ्यकर्मी, स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिसँग कुरा गर्दा बिषादीयुक्त मदिरा पिएका कारण अधिकाशंको मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ, मलेरिया पनि हुनसक्ने भएकाले मृतकहरुको स्वाब र भिसेरा परीक्षण पनि भइरहेको छ,’ उनले भने ।स्थानीय भने कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै त्रसित छन् । वैशाख १० गतेदेखि शुक्रबारसम्म १० जनाको मृत्यु भएको मन्त्री पोखरेलले जानकारी दिए । भंगाहा नगरपालिकामा ६ र बर्दिबास नगरपालिकामा ४ जनाको मृत्यु भएको उनले जनाए । ‘स्वास्थ्यकर्मीहरुले रक्सीकै कारण मृत्यु भएको हुनसक्ने आंशका गरेका छन्, मलेरिया र कालाजारको संकेत पनि देखिएकाले थप परीक्षण भइरहेको छ,’ उनले भने । शुक्रबार पनि ईटा भट्टामा काम गर्ने १ जनाको मृत्यु भएको थियो । अधिकांशको मृत्यु रक्सीको कारण भएको उनले दावी गरे । स्थानीय प्रशासन र स्थानीय तहले रक्सी भट्टी र पसलहरु बन्द गराउने काम गरिरहेको छन् । प्रशासनले उत्पादित रक्सी परीक्षणसहित छानविनको काम गरिएको उनले बताए ।
परीक्षणका लागि पठाइएको ४ जना मृतकहरुको नमुनाको रिपोर्ट भने आउन बाँकी छ । बिहीबारअघि मृत्यु भएकाहरुको भने अन्त्येष्टि भइसकेका कारण परीक्षण हुन नसकेको हो ।बस्तीमा लगातार स्थानीयको मृत्यु हुन थालेपछि स्वास्थ्य विभाग र इपिडेमियोलोजी महाशाखाबाट डा. अमृत पोखरेलको नेतृत्वमा टोली खटाइएको उनले जनाए । मृतकहरु ३० देखि ५७ वर्ष उमेरका छन् । अधिकांश मृतकले नियमति रक्सी सेवन गर्ने पाइएको उनले जनाए । ‘बस्तीमा रक्सी खाने संस्कृति नै छ, केही बिषादीयुक्त चिज मिसिएको वा कच्चापदार्थमा नै बिषाक्त भएका कारण रक्सी पिउनेहरु बिरामी परेको र मृत्युसमेत भएको हुनसक्छ,’ उनले भने । लकडाउनका कारण बस्तीमा अन्य बिरामी छन् छैन भन्ने पनि यकीन हुन सकेको छैन । शनिबारदेखि काठमाडौंबाट पठाइएको बिशेषज्ञ स्वास्थ्यकर्मीसहित स्थानीयले घरघरै पुगेर रोगबारे अध्ययन र बिरामीको उपचार गर्न मन्त्री पोखरेलले जानकारी दिए ।
सुदुर दैनिकबाट