माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत १५ गते र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्रदेश–१ मा ६१ सिटको लागि लिइएको परीक्षामा ७० जना पास भएका छन् । विषयगत लिखित परीक्षामा ११६ जना सम्मिलित थिए ।

त्यस्तै मधेश प्रदेशबाट ३२ सिटका लागि लिइएको परीक्षामा २३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा २६ जना मात्र सहभागी थिए । त्यस्तै बागमती प्रदेशमा ३६ सिटका लागि लिइएको परीक्षामा ३४ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा ४७ जना सहभागी थिए ।

गण्डकी प्रदेशमा ५५ सिटका लागि लिईएको परीक्षामा ५२ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । विषयगत लिखित परीक्षामा ७९ जना सहभागी थिए । लुम्बिनी प्रदेशमा २० सिटका लिइएको लिखित परीक्षामा २२ जना मात्र अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा ४२ जना सहभागी थिए ।

कर्णाली प्रदेशमा ९ सिटका लागि लिइएको परीक्षामा ७ जना मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । लिखित परीक्षामा १३ जना सहभागी थिए । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १९ सिटका लागि लिइएको परीक्षामा २१ जना मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । विषयगत लिखित परीक्षामा ५५ जना सहभागी भएका थिए ।

२३२ सिटका लिइएको विषयगत लिखित परीक्षामा २२९ जना मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा सहभागी ३७५ जना मध्ये १४६ जना फेल भएका छन् । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३९ प्रतिशत उम्मेदवार फेल भएका छन् ।

लिखितमा पास भएका उम्मेदवारको लागि अन्तर्वार्ता असोज २५ र २६ गते हुनेछ । लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले भदौं २७ गतेभित्र ५०० रुपैयाँ राजश्व दस्तुर तिरेर निवेदन दिन सकिने आयोगले जनाएको छ ।