सोभियत युगका अन्तिम नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन

एजेन्सी

१५ भदौ, काठमाडौं । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनी सोभियत युगका अन्तिम नेता हुन् ।

सोभियत संघको नेतृत्व गरिरहँदा गोर्बाचोभले गरको दुईवटा सुधारले सोभियत संघको भविष्य परिवर्तन गरेको मानिन्छ । ती सुधार हुन्- ‘ग्लासनोस्’ अर्थात अभिव्यक्ति स्वतन्त्रता र ‘पेरेस्टोइक’ अर्थात पुनर्गठन । उनका यी सुधारपछि मात्र सोभियत संघका जनताले सरकारको आलोचना गर्ने अधिकार प्राप्त गरेका हुन् । कम्युनिष्ट सरकार चलिरहेको त्यहाँ यसअघि सरकारको आलोचना कल्पनाभन्दा बाहिरको विषय हुन्थ्यो ।

यद्यपि कट्टरपन्थी कम्युनिष्टहरूले गोर्बाचोभलाई संशोधनवादी नेताको रूपमा चित्रित गर्छन् । सोभियत ब्लकमा आवद्ध देशहरूलाई शान्तिपूर्णरूपमा छुट्टिन दिएकोमा उनलाई पश्चिमाहरूले पनि प्रशंसा गर्दछन् । बिना रक्तपात शीतयुद्धको अन्त्य गर्न भूमिका खेलेको श्रेय उनीमाथि जान्छ ।

सन् १९८५ मा सोभियत संघको राष्ट्रपति निर्वाचित भएपछि उनले सोभियत संघको ढोका विश्वका लागि खोलिदिए र देशमा सुधारका काम सुरु गरे ।

लामो समयदेखि गम्भीर रोगसँग लडिरहेका गोर्बाचोभको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ । पछिल्ला वर्षहरूमा उनको धेरै समय गम्भीर स्वास्थ्य अवस्थाका कारण अस्पतालमै बित्ने गरेको थियो । गत वर्ष मिर्गौला रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका थिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गोर्बाचोभको निधनप्रति गहिरो दुःख व्यक्त गरेका उनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी समाचार एजेन्सी इन्टरफ्याक्सलाई जानकारी दिएका छन् ।

उनको निधनमा विश्वभरीबाट श्रद्धाञ्जली अर्पण भइरहेको छ । संयुक्त राष्ट्रसङ्घका राष्ट्रपति एन्टोनियो गुटेर्रेसले गोर्बाचोभलाई ‘इतिहासको ढाँचा परिवर्तन गरेका’ नेताका रूपमा स्मरण गरेका छन् ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लेनले पनि गोर्बाचोभलाई स्वतन्त्र युरोपको मार्ग प्रशस्त गर्ने ‘विश्वसनीय र सम्मानित नेता’को रूपमा स्मरण गरेका छन् ।

गोर्बाचोभ ५४ वर्षको उमेरमा सोभियत कम्युनिष्ट पार्टीको महासचिव हुँदै देशको सर्वोच्च नेता बनेका थिए । त्यतिबेला उनी पार्टी पोलिटब्युरोका सबैभन्दा कान्छा सदस्य थिए ।