Breaking News

आज हरितालिका तीज पर्व स् नेपाली महिलाहरुले हर्षल्लासका साथ तिज मनाइँदै

१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व । नेपाली महिलाहरुले आजकोे दिनलाई विशेष पर्वको रुपमा लिने गर्दछन् । आज देशैभरी हर्षल्लासका साथ तिज मनाइँदैछ । हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् र विवाहित महिलाले आफ्नो श्रीमान्को नाममा ब्रत बस्दछन् भने अविवाहित महिलाले राम्र्रो वर प्राप्तिको लागि ब्रत बस्ने चलन रहेको छ ।

आजको दिन व्रत बसी शिव(पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास
गरिन्छ ।

तिजको अघिल्लो दिन हिजो दिनभरी र राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव(पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । नेपाली समाजमा बहिला दिदीबहिनीहरुले तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने र दर खाने प्रचलन रहँदै आएको छ । तर पछिल्लो समय भने तीज केही भड्किलो र समाजले पचाउनै नसकिने चलनमा समेत गएको छ ।

आजका दिन घरघरमा, घरको छलमा, आँगन, पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लागेको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।

अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन
हुन्छ ।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।