१३ भदौ, काठमाडौं । केन्यासँगको चौथो टी-२० खेल जित्न नेपालले १०२ रनको लक्ष्य पाएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनायो ।
केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन
जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो विकेटका लागि ओपनरद्वय कोलिन्स ओबुया र एलेक्स ओबान्डाले २५ रनको साझेदारी गरेपनि त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन । कोलिन्स २० रन बनाएर सातौं ओभरमा आउट हुँदा केन्या २५(१ को अवस्थामा थियो । त्यसपछि केन्याले लगातार विकेट गुमायो ।
कप्तान सन्दीप लामिछाने र शाहब आलमको स्पीनर जोडी र आदिल आलमले केन्याको इनिङ्सलाई ध्वस्त बनाए । सन्दीपले खेलमा ५ विकेट लिए । उनले कोलिन्सलाई शाहबबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।
एलेक्स व्यक्तिगत ३ रनमा आउट भए । त्यसपछि नेहेमिह ओडिएम्बो ५, राकेप पटेल ६, सचिन बुडिअ ८, सुखदिप सिंह ३, नेल्सन ओडिएम्बो ६ रनमा आउट भए । सातौं विकेटका लागि नेल्सन ओडिएम्बो र लुकास ओलुचले २६ रनको साझेदारी गरे । तल्लो क्रिममा आक्रमक ब्याटिङ गरेका लुकास ओलुचलाई १९औं ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले कट एण्ड बोल्ड गरे । लुकासले १८ बल खेल्दै ३३ रन बनाउँदा ३ चौका र ३ छक्का प्रहार गरे । एलिजाह ओटिएनो १ रनमा आउट भए ।