१२ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाको आज बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक–एक जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ ।
हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने मेयर बालेन साहले बताए । वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने उनले बताए । जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने उनको भनाइ
छ ।
त्यस्तै हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि इन्जिनियर पनि करारमा राख्ने भएको छ । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर बालेनले बताए । उनको प्रस्तावलाई नगर कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।
यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राखेको छ । मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए । महानगरका प्रवक्ता नविन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी दिए । यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखेको थियो ।