प्रधानमन्त्री ओलीद्धारा पहिला राष्ट्रपतिसँग भेट त्यसपछि अर्का अध्यक्ष प्रचण्डसँग छुट्टै कुराकानी

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार अपराह्न सचिवालय बैठकको पूर्वसन्ध्यामा शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री अपराह्न साढे ४ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब ३५ मिनेट कुराकानी भएको स्रोतले बएको छ ।
नेकपा सचिवालयको बैठक बेलुका ४ बजेका लागि तोकिएको थियो । तर, बैठक साढे ५ बजेका लागि सारिएको थियो । यसबीचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका
हुन् ।
प्रधानमन्त्रीले सरकारको नियमित कार्यसूची अन्तर्गत राष्ट्रपतिसँग भेट गरेको शीतलनिवास स्रोतले बतायो । तथापि नेकपाको बैठकअघि भएको यो भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।
राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किएपछि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग केहीबेर अलग्गै कुराकानी गरेका थिए । प्रचण्डसँगको कुराकानी लगत्तै सचिवालय बैठक सुरु भएको छ ।
अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ ।