प्रचण्डको नयाँ आसनसँगै नेकपा सचिवालय बैठक शुरु

२० बैशाख,काठमाडौं । ज्यादै घमसाघम्सीका बीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनेपछि ओली र प्रचण्ड अध्यक्ष छन् । वरियता क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो नम्बरमा भएपनि दुबै समान हैसियतका अध्यक्ष थिए । तर मंसिर २०७५ को सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएको थियो ।
त्यसको केही समयपछि सचिवालय बैठक बस्दा ओली र प्रचण्डलाई एउटै लहरको कुर्सी राख्न थालिएको थियो । तर त्यसले निरन्तरता पाएन । बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले आफू कार्यकारी अध्यक्ष भनिएपनि भूमिका नदिएको गुनासो गरेका थिए । तर आज बसेको बैठकमा प्रचण्ड आसन अर्का अध्यक्ष केपी ओलीसगै आसन बनाइएको छ ।