३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।
गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ट्वीट गरेका छन्, ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं ।’
घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरिरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या देखिएको हो।
‘निमोनिया निको नभएको र क्यान्सर शरिरको अन्य भागमा पनि फैलँदा अवस्था बिग्रिएको छ,’ परिवारका ती सदस्यले भने,‘डाक्टरहरूले आफ्नो प्रयास जारी राख्नुभएको छ।’