संविधान संशोधन गर्न जरुरी छैन बामदेवका लागि म मेरो क्षेत्र खाली गर्न तयार छु

– सांसद, खगराज अधिकारी

१९ वैशाख, पोखरा । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् ।
सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् । प्रधानमन्त्रीले नै सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेपछि अधिकारीले बामदेवका लागि संविधान संशोधन आवश्यक नरहेको बताएका हुन् ।
देश र पार्टीका निम्ति बामदेवको आवश्यकता हो भने आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार रहेको अधिकारीले बताएका छन् । । ‘पार्टीले निर्णय गरेको खण्डमा र पार्टी तथा सरकारलाई चाहिएको खण्डमा जो कोहीले पनि छोड्न तयार हुनुपर्छ,’ ‘बामदेवकै आवश्यकता हो भने मेरा मतदाताको उच्च सम्मान गर्दै म पनि छोड्न तयार छु । संविधान संशोधन गर्न जरुरी छैन ।

संसदमा व्यक्तिको प्रवेश गराउन संविधान संशोधन बाहेक अरु उपाय पनि रहेको अधिकारीको भनाइ छ । आफूले जनताकै लागि त्यागको राजनीति गर्दै आएको र आवश्यक परे अब पनि त्याग गर्न तयार रहेको अधिकारीले बताए ।
‘देश र जनताका निम्ति काम गर्न अरु जिम्मेवारी पनि पाउन सकिन्छ । मतदाताले जिताएर पठाएका हुन् । जनताको सम्मान र सुखदुखमा सधैं सँगै छु,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘हामी सधैं चुनावका लागिमात्र पनि होइनौं । जनता, देश र पार्टीलाई आवश्यक पर्दा म सबथोक छाड्न तयार छु ।
यो संविधान संशोधन गर्ने विषय हो कि होइन भनेर हेनुपर्ने उनको भनाइ छ । संविधान कार्यान्वयनका क्रममै संशोधन गर्नु उचित नहुने अधिकारीले बताए । ‘संविधान कार्यान्वयन गर्ने क्रममै छौं । संशोधन गर्ने बेला भएको छैन । पहिले कार्यान्वयन गरौं । दुईतिहाईको समर्थन भएपछि संशोधन नहुने भन्ने होइन,’ अधिकारीले भने, ‘व्यक्तिलाई संसदमा लैजान अरु बाटो पनि छन् ।
राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन सक्ने गरी संविधान संशोधन गरेर बामदेवलाई राष्ट्रिय सभामा ल्याउने वा प्रतिनिधि सभाको कुनै एक क्षेत्र खाली गराएर निर्वाचनमार्फत ल्याउने भन्नेमा नेकपाभित्र छलफल चलिरहेका बेला सांसद अधिकारीले उपचुनावको बाटो खोलिदिने बताएका हुन् ।

यसअघि पनि बामदेवलाई राष्ट्रिय सभामा लैजानका निम्ति प्रयास हुँदा विवाद र आलोचना भएको थियो । बामदेवकै ठाउँ खाली गर्न काठमाडौं(७ का एमाले सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएको भन्दै आलोचना भएको थियो । त्यसपछि कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा बामदेवको नाम आएको थियो । रवीन्द्र अधिकारीको निधनपछि कास्कीमा भएको उपनिर्वाचनमा अन्तिमसम्म पनि बामदेवको चर्चा
थियो । बामदेवले अस्वीकार गरेपछि रवीन्द्रपत्नी विद्या भट्टराईलाई टिकट दिइएको थियो ।
यस्तो छ कास्की क्षेत्र नम्बर १ को हिसाब
पूर्वएमाले र माओवादी एकीकरणपछि कास्की क्षेत्र नम्बर १ मा नेकपा बलियो छ । गत निर्वाचनमा अधिकारीले कांग्रेसका यज्ञ बहादुर थापालाई १४ हजार मतान्तरले हराएका थिए । अधिकारीले ३९ हजार २४२ मत पाए भने थापाले २५ हजार ८२६ मत ल्याएका थिए ।
नेकपा नेता अधिकारीले प्रतिनिधि सभामा निर्वाचन जित्दा यहाँका दुईवटै प्रदेश सभामा पनि नेकपाकै सांसद छन् ।
अहिले कास्की क्षेत्र नम्बर १ मा नेकपाबाट जो उठे पनि जित्ने र अधिकारीले बामदेवलाई ठाउँ छोडिदिएको खण्डमा जित कठिन नहुने एक नेताले बताएका छन् ।