लकडाउनका कारण कष्टकर स्थिति भोगेका श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गर

– सभापति ,शेरबहादुर देउवा

बैशाख १९, काठमाण्डौ ।  मे १ दिवसको असरमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्व राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
एक १ सय ३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै सभापति देउवाले लकडाउनका बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताएका हुन् ।
’श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु,’ देउवाद्वारा विज्ञप्तिमा भनिएको छ ।
मे १ तारिखलाई सम्झिँदै श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन भएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, ’विसंं २००३ सालमा नेपाली काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बीपी कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो ।