जुम्लाका चौध जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

जुम्लाका चौध जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । कृषि विकास कार्यालय जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालय ,जुम्लाको मूल्यांकनका आधारमा किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो।

कृषि तर्फ सात र पशु तर्फ सात जनालाई जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले पुरस्कार प्रदान गरेका हुन्। जुम्लाका ८ वटै स्थानीय तहका कृषकहरू पुरस्कृत भएका हुन्। उनीहरुलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

कृषकको हरेक व्यवसायको मुल्यांकन गरेर पुरस्कारका लागि छनौट गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द बहादुर महतले स्थलगत अनुगमनका आधारमा निष्पक्ष रुपमा वास्तविक व्यवसायीक कृषकलाई पुरस्कृत गरिएको बताए ।