ओलीको असार १७ गते केन्द्रित त्यो भविष्यवाणी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि (वैशाख २६ गते) एउटा भविष्यवाणी गरे । उनले असार १७ गते नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नरहने र गठबन्धनसमेत भत्किने दाबी गरे ।

स्थानीय चुनावको मुखमै ओलीले देउवा सरकार र गठबन्धनको भविष्यवाणीबारे कतिपयले उडाएर टारे भने कतिपयले उत्साहका साथ लिए । तर स्थानीय चुनाव निम्तिएकाले सबै निर्वाचनतर्फ नै केन्द्रित भए ।

तर, असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने सङ्केत मिलेको छ । सत्तारुढ गठबन्धन पनि कायमै छ । देशकै ठुलो पार्टीका अध्यक्ष र पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले कुन आधारमा मिति नै तोकेर त्यस्तो भविष्यवाणी गरे भन्ने प्रस्ट हुन सकेको छैन ।

राजनीतिक दलका नेताहरू वैचारिक धरातल शून्य भएपछि यस्तै उडन्ते कुरा गरेर बस्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । ‘नेपालका राजनीतिक दलका नेताहरू वैचारिक रूपमा टाट परेको लक्षण हो । विचारमा टाट पल्टेको मान्छेले शिवाय अरूले यस्तो बोल्ने कुरै होइन,’ रातोपाटीसँग श्रेष्ठले भने, ‘केपीजीले जे मुखमा आयो त्यही बोलेको हो ।’

केपी ओलीले बोल्नका लागिमात्रै असार १७ गतेका लागि भविष्यवाणीको कुरा गरेको श्रेष्ठले बताए । ‘उहाँले ज्योतिषसँग सोधेर पनि बोलेको होइन, ज्योतिष विद्यामा पनि त्यस्तो हुँदैन,’ श्रेष्ठले भने, ‘वैचारिक रूपमा नेताहरू कति गरिब छन् भन्ने प्रमाण हो यो ।’

ओलीको भविष्यवाणी यस्तो थियो

गत वैशाख २६ गते एक टेलिभिजनसँगको ‘टक शो’ कार्यक्रममा ओलीले देउवा सरकार नरहने र गठबन्धनसमेत भत्किने बताए । ‘शेरबहादुरजी ज्योतिषमा बडो विश्वास गर्नुुहुन्छ । यो असार महिना नेपालको राजनीतिमा उलटफेरवाला महिना छ । उहाँले आफ्नो ज्योतिषलाई बोलाएर सोधे हुन्छ,’ टेलिभिजन अन्तरवार्तामा ओलीले भनेका थिए, ‘नेपालको राजनीतिमा उलटफेर भई समीकरणहरू भताभुङ्ग हुने, एउटाले एउटा खाँबो बोक्ने, अर्कोले अर्को बलो बोकेर हिँड्ने हुनेछ ।’

स्थानीय चुनावको एक महिनापछि ग्रहदशाको दृष्टिकोणले असाधारण अवस्था भएको ओलीले बताए । ‘आफैले भताभुङ्ग पार्ने स्थिति छ । शेरबहादुरजीलाई आग्रह गर्दछु, ज्योतिषलाई बोलाएर सोध्नुस् । असार १७ गते कस्तो दिन छ रु’ आफू ज्योतिष नभएको स्पष्ट पार्दै ओलीले भने, ‘आफू म ज्योतिष होइन । ज्योतिष बोलाएर सोध्नुस्, असार १७ गतेले के भन्छ रु म चाहन्छु १७ गतेपछि यो गठबन्धन कायम होस्, अगाडि जाओस् ।’

टेलिभिजनसँगको अन्तर्वार्तामा मात्रै होइन, पार्टीका सार्वजनिक कार्यक्रममा समेत असार १७ गतेका लागि आफूले गरेको भविष्यवाणीको उनले व्याख्या गरे । ओलीको भविष्यवाणीले एमालेका कार्यकर्ता उत्साहित देखिन्थे भने विरोधीहरू उनका कुरालाई उडाएर सामाजिक सञ्जाल रङ्ग्याउन व्यस्त देखिन्थे ।

ओलीले भविष्यवाणी गरेजस्तो असार १७ सम्म आइपुग्दा सत्तारुढ गठबन्धन भताभुङ्ग र लथालिङ्ग भएको छैन तर गठबन्धनभित्र सबै कुरा स्थिर पनि देखिएको छैन ।

आगामी प्रदेश र संघको चुनाव घोषणा हुने तयारी भइरहँदा सत्तारुढ गठबन्धनको घटक जसपा नेपालभित्र शक्ति संघर्ष चुलिएको छ भने पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको छ । अर्कोतिर बागमती प्रदेशमा गठबन्धन घटकबीच सरकार परिवर्तनको रस्साकस्सी सुरु भएको छ । नेपाली काँग्रेसमा पनि असन्तुष्ट पक्ष सलबलाउन थालेको अवस्था छ । नेकपा माओवादी केन्द्रभित्र कै एक समूह वामपन्थी तालमेलका लागि प्रयास गरिरहेको छ । एकीकृत समाजवादीभित्र पनि यो मत बलियो छ । सो पार्टीभित्र पनि आन्तरिक विवाद चुलिएको छ । यद्यपि, यतिले नै सरकार ढल्ने र सत्तारुढ गठबन्धन भताभुङ्ग हुने अवस्था नदेखिएको विश्लेषक बताउँछन् ।

ओलीका यस्ता छन् विगतका उडन्ते भाषण

ओलीले यस्तो भविष्यवाणी यसअघि पनि नगरेका होइनन् । तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा ओलीले २०७५ साल पुस १६ गते पानी जहाजको टिकट काटेर चढ्न पाइने घोषणा गरेका थिए । दोलालघाटबाट पानी जहाज चढ्न पाइने र हनुमान नगरमा टिकट काट्न लाइन बस्न पनि ओलीले आह्वान गरेका थिए ।

उनको अभिव्यक्तिलाई नपत्याएर जनताले बाल्टीमा पानी राखेर कागजको डुंगा बनाएरसमेत व्यङ्ग्य गरेका थिए । आफ्नो कुरा नपत्याएको भन्दै ओलीले ललितपुरको एकान्तकुनामा एक सहसचिव सहित १६ जना कर्मचारी राखेर पानी जहाज कार्यालय खोले । कार्यालय आफैले उद्घाटन गरे । कर्मचारीले तलव र भत्ता खाए तर पानी जहाजको टिकट काट्ने दिन अहिलेसम्म आएन ।

यस्तै ओलीले पाइप लाइनबाट ग्यास ल्याउने घोषणा गरे । आफू प्रधानमन्त्री भएपछि ग्यासको सिलिन्डर बोक्ने जमाना जाने बताउँदै ओलीले सिधै ग्यासको पाइप भान्सामा जोडिने घोषणा गरे । तर उनको त्यो भविष्यवाणी पनि पूरा भएन ।

यस्तै ओलीले चिनियाँ रेल केरुङबाट काठमाडौँ हुँदै पोखराबाट लुम्बिनी पुग्ने भविष्यवाणी गरे । नेपालमा रेल चल्न थालेपछि कसैले नपत्याउने गरी विकास हुने अभिव्यक्ति दिँदै उनले सार्वजनिक कार्यक्रममा धेरै पटक रेलको वकालत गरे । आफू तीन वर्षसम्म प्रधानमन्त्री हुँदा उनले रेलको सर्भे समेत गराउन सकेनन् ।

स्थानीय तहको निर्वाचन अघि ओलीले सत्तारुढ गठबन्धनलाई किलोको ढक र नेकपा एमालेलाई क्विन्टल भनेर व्याख्या गरेका थिए । सबै दल मिलेर आए पनि स्थानीय तहमा नेकपा एमाले नै विजयी हुने उनको भविष्यवाणी थियो । तर, स्थानीय तहको निर्वाचन परिणामले नेकपा एमालेलाई दोस्रो शक्तिका रूपमा सीमित राखेको छ ।

कोरोना महामारी उत्कर्षमा पुग्दा एकातिर सरकारले लकडाउन घोषणा गरेको थियो भने अर्कोतिर अस्पतालमा बिरामीको चाप थेगिनसक्नु थियो । स्वास्थ्य व्यवस्था तहसनहस भएको त्यो अवस्थामा ओलीले बेसार पानी खाएर कोरोना निको हुने अभिव्यक्ति दिए ।

त्यतिबेला ओलीले संसदमा उडन्ते भाषण गरेको भन्दै सांसद गगनकुमार थापाले प्रतिवाद गरे । ओलीले एकपछि अर्को गर्दै उडन्ते भाषण गर्न थालेपछि त्यतिबेला प्रमुख प्रतिपक्ष दलका नेताहरूले मात्र होइन, तत्कालीन सत्तारुढ दल नेकपाकै नेताहरूले समेत उनको आलोचना गरेका थिए ।

रातोपाटीबाट