५ चैत, काठमाडौं । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ ।
सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।
छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमार्फत १२६ सदस्यीय नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जाने छ।