Breaking News

प्रधानमन्त्री केपी ओलीले कार्यक्रम स्थलमै कविता रचना

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रम स्थलमै कविता रचना गरेका छन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा ओलीले कविता रचना गरेका हुन् ।
ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गरेका थिए । उनको कविता पूर्वराजा ज्ञानेन्द्र शाह र पछिल्लो राजनीतिक अवस्थाप्रति लक्षित देखिन्छ ।

सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफै हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पाकेटमाराको १
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने १

नेपाल र विदेशका गरी करिब पाँच सय स्रष्टा सहभागी सम्मेलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको थियो । यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मिलनको उद्घाटन भएको थियो ।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताएका थिए ।

यस्तो छ ओलीको कविता

अञ्जुली भित्र सजाएर राखेको नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौँ
एउटा बृहत् मिलन, सम्मिलन
एउटा सङ्कल्प सुवर्ण हिमवत्खण्डको

कथा–हाँगाबाट भुइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ !
उन्माद,आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !

तर, समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकाल सहरमा ‘काग काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यता माथि बिष्ट्याइरहेछन्
ओहो भाषा !
भनभन ! साँचो झुटो
सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफै हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पाकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने १
तर,
हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ
अघि बढ्ने बाटो खोजिरहेछ
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर त्यहि छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !