नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठक प्रज्ञा भवन कमलादीमा बस्दै

१३ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ ।

पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने सो पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिएका छन्।

बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । सो प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्याबारे चर्चा गर्दै आगामी कार्यदिशाबारे उल्लेख छ । सो प्रतिवेदनमा बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् ।