लोकदोहरीकी गायिका दिलमाया विकको मृत्यु शंकास्पद : प्रेमी श्रेष्ठ पक्राउ

लोकदोहरीकी गायिका दिलमाया बिक आज बिहान आफ्नै कोठामा मृत फेला परेकी छिन् ।

सुर्खेतकी दिलमाया काठमाडौंको तार्केश्वर नगरपालिका(११ नेपालटारस्थित सर्वोत्तम श्रेष्ठको साढे दुई तले घरमा मृत फेला परेकी हुन्। उनी त्यहाँ कोठा भाडामा बस्थिन्। उनी खाटमा उत्तानो परेको अवस्थामा फेला परेकी थिइन्।

मृत भेटिनुअघि उनको फेसबुकमा एउटा स्टाटस लेखिएको छ। शनिबार बिहान १ः२० बजे ‘सुसाइड नोट’ पोष्ट भएको देखिन्छ। सुसाइड नोटमा के कारणले आत्महत्या गर्न लागेको भन्ने उल्लेख गरिएको छैन।

घरबेटी सर्वोत्तमका अनुसार गायिका दिलमायाले ‘सुसाइड नोट’ लेखेको देखेपछि उनका ‘फ्यान’हरूले फोन गरेका थिए। तर उनको फोन भने अफ थियो। त्यसपछि घरबेटी सर्वोत्तम श्रेष्ठलाई पनि फोन आयो।

उनलाई भनियो( दिलमायाले यसरी स्टाटस लेख्नुभएको छ। फोन पनि अफ छ। एकचोटी गएर हेरिदिनु न।

त्यस्तो खबर आएपछि सर्वोत्तम दिलमायाको कोठामा पुगे। कोठाको ढोका खुल्ला नै थियो। ढोका खोलेर हेर्दा उनी मृत भेटिइन्।

‘मलाई फोन आएपछि म हेर्न भनेर गएको थिएँ। कोठा खुल्लै थियो। चुकुल लगाएको थिएन,’ उनले भने।

त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी वृत्त बालाजुको टोली घटनास्थलमा पुगेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थल पुग्यो।

प्रहरीले यस घटनामा उनले आत्महत्या गरेको हो वा हत्या गरेको हो भन्ने खुलाएको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले यस घटनाको अनुसन्धान भइरहेको बताए।

‘यो घटना शंकास्पद छरछैन भन्ने अनुसन्धान भइरहेको छ,’ उनले भने।

घटनाका केही कुराले भने शंका गर्ने ठाउँ छाडेको छ।

प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। आवश्यकताअनुसार अरू व्यक्तिहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति दिलमायाको कोठामा आउजाउ गरिरहन्थे।

घरबेटी सर्वोत्तमले पनि ती व्यक्ति दिलमायाका श्रीमान् भएको बताए। दिलमायाको अघिल्लो श्रीमानसँग डिभोर्स भएपछि उनीसँग बस्न थालेकी थिइन्। तर उनी त्यस घरमा बस्दैनथे। उनले अर्को पनि विवाह गरेको खुलेको छ।

‘आइरहने पुरूष आफ्नो श्रीमान् हो भन्नुभएको थियो। दक्षिणकालीमा गएर दोस्रो विवाह गरेको, हामी बुढाबुढी हौं भन्नुभएको थियो,’ घरबेटी सर्वोत्तमले भने।

प्रहरीले भने ती व्यक्ति दिलमायाका श्रीमान् हुन् वा होइनन् भन्नेबारे पनि बुझिरहेको छ।

केही महिनाअघि पनि दिलमायाले आत्महत्याको प्रयास गरेको घरबेटी सर्वोत्तमले बताए।

‘विवाह गरेको लगभग दुई(तीन महिनामा नै उहाँले आत्महत्याको प्रयास गरिसक्नुभएको थियो। श्रीमानसँग त्यस्तै के कुरा भएर हो,’ उनले भने,‘दोस्रो विवाह भएदेखि उहाँ डिप्रेसनमा हुनुहुन्थ्यो। दुस्खको मात्रै कुरा गर्नुहुन्थ्यो। बुढा घर आएन। फोन गर्दा पनि रिसाएर मात्रै उल्टै गाली गर्छ भन्नुहुन्थ्यो।’

सर्वोत्तमका अनुसार दिलमायाले ती पुरूषलाई लोकदोहरीको कार्यक्रममा भेटेकी थिइन्। दोहोरी साँझमा काम गरूञ्जेल उनको मानसिक अवस्था सामान्य नै भएको उनले बताए। तर अर्को विवाह भएपछि भने उनी डिप्रेशनमा गएको उनको भनाइ छ। विवाहपछि उनले काम समेत गर्न छाडेकी थिइन्।

‘उहाँ गायिका भन्ने मलाई पहिल्यै थाहा थियो। उहाँ दोहोरीमा काम गर्नुहुन्थ्यो। दोहोरीमा काम गर्दासम्म ठिकै थियो,’ उनले भने,‘जब उहाँको अर्को विवाह भयो त्यसपछि काम गर्न नजा बरू यही बस् भनेर भनेका रहेछन्। मैले सोधेको थिएँ। त्यसरी काममा नगएपछि दिनभरी घरमा बसेर त्यस्तो भएको हो।’

दिलमाया मृत फेला पर्नु अघिल्लो रात पनि ती पुरूष पनि उनको कोठामा पुगेको देखिन्छ। सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा उनले आफू मध्यराति १२ बजेतिर निस्केको बताएका थिए।

पछि अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ।

‘यहाँको सिसिटिभी फुटेज हेर्दा उहाँ १२ बजेचाहिँ आएर बिहान साढे ४ बजे निस्किएको देखिएको छ,’ घरबेटी सर्वोत्तमले भने।

घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन पनि फेला पारेको छैन। अहिले फोन गायब भएको हुँदा पनि थप शंका गर्ने ठाउँ छ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनको हराएको फोन पनि खोज्ने काम भइरहेको छ। उनको फेसबुक आइडीबाट राति नै आत्महत्या गर्न लागेको सुसाइड नोट देखिए पनि कोठाबाट कुनै विषको बट्टा फेला नपारेको प्रहरीले बताए।

‘घटना यही हो भनेर भन्न सकिने अवस्था छैन। उनी आफ्नै खाटमा उत्तानो परेको अवस्थामा शव भेटिएको हो। हामीले त्यहाँको मुचुल्का गरी शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाएका छौं,’ ती प्रहरीले भने,‘पोष्टमर्टमबाट केही कुरा खुल्नसक्छ।’

उनका अनुसार दिलमायाको घाँटीमा निलडाम पनि देखिएको छ।

‘शरीरमा सानोतिना दाग देखिएका छन्। हामी हेर्दैछौं,’ उनले भने।

घटनाको थप अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ।

सेतोपाटीबाट